बिहानको १० बजेपछि काठमाडौं बागबजार क्षेत्रका मजदुरहरु खाना खान पाइन्छ कि भन्दै यताउता सलबलाउन थाल्छन् । मुलुकमा बन्दाबन्दी (लकडाउन) सुरु भएको एक महिना पूरा भइसकेको छ । अझै कति लम्बिने हो, ठेगान छैन । लकडाउनसँगै मजदुरको रोजीरोटी खोसिएको छ। उनीहरु एक छाक खानकै लागि संघर्ष गरिरहेका छन् ।
लकडाउनसँगै सक्नेले केही समयका लागि खाद्यान्न जोहो गरिहाले। कोही गाउँ फर्किए। तर, काठमाडौंमा थुप्रै मानिस यस्ता छन्, जसले न खाद्यान्नको जोहो गर्न सके, न त गाउँ फर्किन नै ।
लकडाउन लम्बिँदै जाँदा दैनिक मजदुरी गरेर खाने वर्गको समस्या पनि बढ्दै गएको छ। रोजगारी खोसिएपछि अलपत्र परेर आफ्नो गन्तव्यतर्फ भोकभोकै हिँडिरहेकाहरुलाई बाटोमा खानाको लागि सहयोग गर्नेहरु पनि छन् । तर जो काठमाडौंमै छुटेका मजदुरहरु छन्, उनीहरुको अवस्था निकै दयनिय छ । उनीहरु एक छाकको भरमा बसिरहेका छन् ।
मजदुरको बाक्लो बसोबास हुने क्षे हो, बागबजार । यस क्षेत्रमा रहेका मजदुरलाई बिहान हुनेबित्तिकै के खाने भन्ने चिन्ताले पिरोल्छ । बेलुका सुतिसकेपछि बिहान उठ्न नपरे हुन्थ्यो झैँ लाग्ने बताउँछन् एक मजदुर रमेश मगर ।
रमेशले महाबौद्ध क्षेत्रमा भरियाको काम गर्थे । तर लकडाउनसँगै उनको रोजगारी खोसियो अनि गाँस पनि । खानाकै लागि उनी भौतारिँदै हिड्नुपर्ने अवस्था आयो । एकदिन रत्नपार्कमा हिँड्दै गर्दा मजदुरहरुलाई कसैले खाना खुवाइरहेको देखेपछि उनी पनि लाइनमा लागे। त्यसयता उनी सोही क्षेत्रमा बस्छन् र विभिन्न व्यक्तिहरुले दिएको खाना खान्छन् ।
क्लब–२८ नाम संस्थाले मजदुहरुलाई खाना खुवाइरहेको छ। एकदिन संस्थाका अध्यक्ष अरुण तण्डुकार बाटोमा भेटिने कुकुरहरुलाई खानेकुरा खुवाउँदै थिए । त्यसैक्रममा एक मजदुरले प्रश्न गरे, ‘हामीले चाहिँ खाना खान पाइँदैन ?
त्यसपछि तण्डुकारले मजदुरहरुलाई पनि खाना खुवाउने योजना बनाई क्लबमार्फत् व्यवस्था गर्न थाले । घर, पसल र होटल बन्द भएपछि खाना र पानीसमेत नपाउने अवस्था देखेपछि हाल क्लबले दैनिक २ सय जनालाई खाना खुवाउँदै आएको छ ।
लकडाउन भएपछि उद्योगधन्दा, व्यापार व्यवसाय, पसल, सवारीसाधन बन्द हुँदा श्रमिकहरु भोकै बसेको देखेपछि उनीहरुलाई खाना खुवाउन थालेको क्लबका तण्डुकार बताउँछन् । लकडाउन अवधिभर मजदुरहरुलाई खाना खुवाउने क्लवको योजना रहेको उनले सुनाए।
क्लबले रत्नपार्क, टुँडिखेल, वीर अस्पताल क्षेत्रका मजदुर तथा खाना खान नपाएकाहरुलाई खाना खुवाइरहेको छ । मजदुरहरुलाई रोगको कुनै चिन्ता छैन । उनीहरुलाई भोकको चिन्ता छ । एक मजदुर भन्छन्, ‘हामी गरिबहरु रोगले भन्दा भोकले मर्ने भयौंं।’