काठमाडौं। आर्थिक वर्ष २०७९/८० को असोजसम्ममा आयत र निर्यात दुवै घटेको छ। असोजसम्मा आयात ३५.७ प्रतिशत र निर्यात १६.२ प्रतिशतले घटेको हो।
असोजमा वस्तु निर्यात ३५.७ प्रतिशतले घटेर ४१ अर्ब ८२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो।
असोजसम्मा कुल वस्तु आयात १६.२ प्रतिशतले घटेर ४ खर्ब १ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो।
असोजसम्ममा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.० प्रतिशत र ३५.० प्रतिशतले घटेको छ भने अन्य मुलुकतर्फको निर्यात ५.० प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, तयारी पोशाक, चियालगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुनचाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ।
त्यसैगरी भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १६.७ प्रतिशत र १९.२ प्रतिशतले घटेको छ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, कोइला लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पाट्र्स, कच्चा सोयाविन तेल, एम.एस. तार, छड, बार, क्वाइल लगायतका वस्तुको आयात घटेको छ।
निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, तातोपानी बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा घटेको छ।
असोजसम्ममा कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले घटेर ३५९ अर्ब १८ करोड पुगेको छ। साथै, भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ३४ अर्ब ५९ करोड बराबरको वस्तु आयात भएको छ।