केही हप्ताअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एउटा सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा सोधिएको प्रश्न थियो, क्रिकेटमा तपाईंले बिर्सन चाहेको क्षण कुन हो ?
ट्विटरमा सोधिएको प्रश्नमा ३३ सयभन्दा बढी प्रतिक्रिया आइसकेका छन्। विभिन्न देशका टिम समर्थकल आआफ्नो देशले हारेको पललाई नै त्यसलाई विर्सन चाहेको बताएका छन्।
श्रीलङ्काका समर्थकको उत्तर थियो सन् २००३ को विश्वकप सेमीफाइनल खेल। शेखर बी, साइकिरन अजय के, सौमियाँ लगायत धेरै जनाले यस्तो बताएका थिए।
यसमा श्रीलङ्काले त्यो समयमा अष्ट्रेलियासँग हारको सामना गरेको थियो।
त्यस्तै, भारतीय अधिकांश समर्थकले पाकिस्तान विरुद्धको च्याम्पियन्स ट्रफीको फाइनल विर्सन चाहेको बताएका छन्।
एक ट्वीटर प्रयोगकर्ता निकिता माल्वीयाले लेखेकी छिन्, ‘म पाकिस्तान विरुद्धको च्पाम्पियन ट्रफीको फाइनल खेल विर्सन चाहन्छु।’ क्रिकेट किङ, अक्षय ताद्वेभ लगायतका धेरै प्रयोगकर्ताले पनि सोही कुरा बताएका थिए। ओभल स्टेडियममा भएको सो प्रतियोगितामा पाकिस्तानले एक सय ८० रनले भारतलाई हराएको थियो।
त्यस्तै गत अगस्ट र जुलाईमा सम्पन्न एक दिवसीय विश्वकपमा धोनीको अप्रत्यासित आउटलाई पनि भारतीय क्रिकेट फ्यानले विर्सन चाहेको पल भनेका छन्। त्यसबेला उनी रन आउट भएका थिए। यस्तै २०१९ को आइपीइल फाइनल पनि केही मानिसले विर्सन चाहेका छन्।
यसबाहेक पाकिस्तानको समर्थन गर्ने मानिसले सन् २००७ को विश्वकप फाइनल विर्सन चाहेका छन्। राना अवाइज नामक एक मानिसले लेखेका छन्, ‘त्यो टी ट्वान्टी विश्वकपले अझैसम्म चित्त दुखेको छ।’ जसमा पाकिस्तानलाई भारतले मात्र पाँच रनले हराएको थियो।
यी सबै क्षणमध्ये पनि दुई यस्ता पलहरु छन्, जुन अत्यधिक क्रिकेट समर्थकले विर्सिन चाहेका छन्। पहिलो हो, एक दिवसीय विश्वकप फाइनल २०१९ र अर्को क्रिकेट क्रिजमै ब्याटस्मेन फिलिप ह्युगेजको मृत्यु।
एक दिवयसीय विश्वकप फाइनल
४४ वर्षको एक दिवसीय विश्वकप क्रिकेट इतिहासमा यस्तो पहिलोपटक भयो की फाइनल खेललाई सुपर ओभरमा लम्ब्याउनु पर्यो। तर सुपर ओभरमा पनि बराबरी भएपछि बाउन्ड्री प्रहारका आधारमा विजेता घोषणा गर्नुपरेको थियो।
५० ओभर खेलको फाइनलमा न्युजिल्यान्ड र आयोजक राष्ट्र इङंल्यान्डको भिडन्त थियो, जुलाई १४ २०१९ मा। २४२ को लक्ष्य पाएको इङंल्यान्डले अन्तिम बल प्रहार गरिसक्दा लक्ष्य भेट्टाउन एक रनले चुक्यो। र, दुवै राष्ट्रको रन बराबरी भयो।
सुपर ओभरमा पहिले ब्याटिङमा गर्न आएको इङंल्यान्डले ६ बलमा १५ रन बनाएको थियो।
अब पालो न्युजिल्यान्डको। तर न्युजिल्यान्डले पनि इङंल्यान्डलाई जित्न सकेन। एक ओभर खेल्दा १५ रन मात्र बनाउन सक्यो। खेल बराबरी भयो।
खेल सकिँदा पनि नतिजा निस्किएन। सबै दर्शक अचम्ममा परे।
सायद कसैले सोचेका थिएनन् होला विश्वकप फाइनल यस्तो हुँदैछ भनेर।
खेल सकिएपछि विजयको उल्लासमा रमाउन ठिक्क परेका दुवै देशका समर्थक हिस्स परे। उनीहरुलाई थाहै भएन कसले जित्यो विश्वकप। विभिन्न देशबाट टेलिभिजनमा खेल हेरिरहेका मानिस पनि अचम्मित भए।
सबैको एकै सवाल थियो– यो के भयो ?
एकै छिनमा अम्पायरले विजेता घोषणा गरे, बाउन्ड्री काउन्टका आधारमा। धेरै बाउन्ड्री प्रहार गरेको आधारमा इङ्ल्यान्ड पहिलोपटक एक दिवसिय विश्वकपमा विजयी भयो। र, पाँचौँ पटकको आयोजनामा उसले ट्रफी अरुलाई सुम्पनु परेन।
त्यसै समय इङ्ल्यान्डमा बिम्बल्डन टेनिस प्रतियोगिता पनि चलिरहेको। टेनिस सकिएपछि उसको क्लब र खेलाडीले क्रिकेटलाई व्यङ्ग्य गर्दै सोधेको थियो, ‘हामीले त प्रतियोगितामा जितेकोलाई विजयी घोषणा गर्यौँ । तिमीहरुले के आधारमा विजयी बनायौ ?’
यो प्रतियोगितालाई इङ्कित गर्दै भारतीय समर्थक नमन सोलानकीले आईसीसीको उक्त ट्विटमा रिप्लाई गर्दै भनेका छन्, ‘म भारतीय समर्थक हुँ तर म एक दिवसीय विश्वकप २०१९को फाइनल खेल विर्सन चाहन्छु। फाइनलमा जे भयो त्यो न न्युजिल्यान्डका लागि राम्रो भयो न समग्र क्रिकेट समर्थकको लागि नै।’
ब्याटस्मेन फिलिप ह्युगेजको मृत्यु
अष्ट्रेलियाका क्रिकेटर फिलिप ह्युगेजको २५ वर्षको उमेरमा क्रिकेट बलले लागेर निधन भएको थियो। शेफिल्ड शिल्डको म्याचमा दक्षिण अष्ट्रेलिया र न्यु साउथ वेल्स सिड्नी मैदानामा भिडिरहेका थिए।
२५ नोभेम्बर २०१४ का दिन फिलिप ६३ बलमा खेलिरहेका थिए। दोस्रो इनिङ चलिरहेको खेलमा सन अब्बटले बल गरे। बाउन्सर बललाई हुक गर्न खोज्दा गल्तीबश बलले फिलिपको घाँटीमा लाग्यो।
उनले हेलमेट लगाएका थिए। तर हेलमेटले सुरक्षा नगर्ने ठाउँ (कान मुनी) बलले लाग्यो। उनलाई तत्कालै सेन्ट भिनसेन्ट अस्पताल लगिए पनि उनलको ज्यान बच्न सकेन।
त्यो खेल त्यतिकैमा स्थगित गरियो। मेलबर्न र ब्रिसबर्नमा आयोजित अन्य दुई खेल पनि त्यही दिन स्थगित गर्दै अष्ट्रेलियाको क्रिकेट संघले भन्यो, ‘दशैभरीका खेलाडीले यो बेलामा कस्तो महशुस गरिरहेका छन्, हामी बुझ्छौँ। त्यसैले यो खेल्ने समय होइन।’