काठमाडौं। चुनावी संघारमा मूल्यवृद्धि साढे ८ प्रतिशत पुगेको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार मूल्यवृद्धि ८.५० प्रतिशत पुगेको हो।
केन्द्रीय बैंकका अनुसार २०७९ असोजमा मूल्यवृद्धि उक्त परिमाणबराबर थियो। अघिल्लो वर्ष सोही अवधिमा भने ४.२४ प्रतिशतमात्र थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.०५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.८५ प्रतिशत थियो।
गत वर्ष असोजको दाँजोमा यसपालि असोजमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको मूल्यवृद्धि १५ं९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९.४५ प्रतिशत सुर्तिजन्य पदार्थको ८.४४ प्रतिशत छ।
त्यसैगरी गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्यवृद्धि २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४, फर्निसिङ तथा घरायसी उपकरणको ९.४५, शिक्षाको ८.११ र घरायसी उपयोगका वस्तुको मूल्यवृद्धि ७.६८ प्रतिशत छ।
गत असोजमा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत मूल्यवृद्धि थियो। तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत थियो। गत वर्ष असोजमा भने काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१, पहाडमा ५.६८ र हिमालमा ३.१२ प्रतिशत मूल्यवृद्धि थियो।