काठमाडौं- माघ ९ गते नेपालमा देखिएको कोराना भाइरसबाट अहिलेसम्म ३१ जना संक्रमित देखिएका छन्। संक्रमण देखिएको ३ महिना पूरा हुँदा सरकारले अहिलेसम्म ३३ हजार ५६२ जनाको परीक्षण गरेको छ।
द्रुत परीक्षण (र्यापिड टेस्ट) थालेको भनिएको तीन साता हुन लाग्दासम्म सरकारले परीक्षण दायरा बढाउन सकेको छैन। यद्यपि स्वास्थ्य मन्त्रालयले जिल्लाजिल्लामा स्वास्थ्यकर्मीको टोली परिचालन गरेर द्रुत परीक्षण भइरहेको दाबी गर्दै आएको छ।
संक्रमित हुनेमा ७ महिला र २४ पुरुष छन्। ४ जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
२७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन्।
संक्रमितको उमेर समूह १९ वर्षदेखि ८१ वर्षसम्मको छ। डिस्चार्ज हुनेमा दुई महिला (६५ र १९ वर्षीया) तथा दुई पुरुष (२२ र २१ वर्ष) का छन्।
१० जना संक्रमित तेस्रो मुलुकबाट हवाई यात्रामा आएका नेपाली हुन् भने दुई जना भारत (मुम्बई र उत्तराखण्ड) बाट आएका हुन्। संक्रमित १४ जना भारतीय रहेको भनिए पनि सरकारी निकायले पुष्टि गरेको छैन। उनीहरू सबै पुरुष हुन्।
संक्रमित अन्य ३ चार जनाको भने सरकारले नै 'ट्राभल हिस्ट्री' केही उल्लेख गरेको छैन। त्यस कारण उनीहरुमा संक्रमण भएका व्यक्तिबाट कोरोना फैलिएको स्पष्ट हुन्छ।
यसरी परीक्षण गरिएकामध्ये सबैजसो पोजेटिभ केस विदेशबाट आएकामा देखिएकाले फागुनयता विदेशबाट आएका नेपालीले तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्ने चिकित्सकको सुझाव छ।
चीनको वुहानबाट आएका एक युवकमा माघ ९ देखिएको कोरोना भाइरस संक्रमित व्यक्तिको उमेर, उनीहरुको यात्रा विवरण र उपचार अवस्था कस्तो छ त?
चीनबाट आएका युवक माघमै डिस्चार्ज
नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमण माघ ९ गते पुष्टि भएको थियो। संक्रमित २२ वर्षीय युवक चीनको वुहान (कोरोना भाइरसको उदगम) बाट आएका विद्यार्थी हुन्। टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचार गराएर उनी माघमै डिस्चार्ज भए।
दोस्रो संक्रमित फ्रान्सबाट
दोस्रो संक्रमण फ्रान्सबाट कतारको दोहा हुँदै आएकी युवतीमा १० चैतमा देखियो। १९ वर्षीया ती युवती चैत ४ गते कतार एयरवेजको विमानमा आएकी थिइन्। उनलाई संक्रमण पुष्टि भएलगत्तै सरकारले चैत ११ लकउडान घोषणा गर्यो। ती युवती पनि निको भएर घर फर्किसकेकी छन्।
तेस्रो संक्रमित यूएईबाट
चैत १२ गते संक्रमण देखिएका व्यक्ति धादिङका ३२ वर्षीय पुरुष हुन्। उनी चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ विमानमा आएका थिए।
स्वास्थ्यमा समस्या आएपछि उनी चैत २१ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए। सोही दिन स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। पोजेटिभ रिपोर्ट आएपछि उनी अस्पतालमै बसे। त्यहीं उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
चौथो संक्रमित दुबईबाट
चैत ७ गते धनगढीका ३४ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भयो। उनी दुबईबाट दिल्ली हुँदै चैत ६ गते भिस्तारा एयरबाट काठमाडौं आएका थिए। एक दिन काठमाडौं बसेर भोलिपल्ट धनगढी गएका उनी चैत ९ मा स्वास्थ्य समस्या भएपछि सेती प्रादेशिक अस्पतालमा पुगे।
उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउँदा १४ गते रिपोर्ट पोजेटिभ देखियो। उनी अहिले सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ।
पाँचौं संक्रमित बेल्जियमबाट
बागलुङकी १९ वर्षीया युवती चैत ४ गते बेल्जियमबाट कतार हुँदै कतार एयरवेजको क्युआर ६५२ विमानमा काठमाडौं आएकी थिइन्। यी युवती र दोस्रो कोरोना संक्रमित युवती एउटै उडानमा आएका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी धौलागिरी अस्पताल पुगेकी थिइन्।
उक्त अस्पतालबाटै थ्रोट स्वाब झिकेर जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। चैत चैत १५ मा रिपोर्ट पोजेटिभ आएपछि उनको उपचार बागलुङमा सुरु गरियो। युवती अहिले बागलुङको धौलागिरी अञ्चल अस्पतालमा आइसोलेसनमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
छैटौं संक्रमित ६५ वर्षीया महिला
बागलुङकै ६५ वर्षीया वृद्धा पनि चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन्।
उनी कोरोना संक्रमित बागलुङकी युवतीकी आफन्त हुन्। दुवै जना विदेशबाट पनि सँगै आएका थिए। उनलाई चैत २० गते कोरोना संक्रमण पुष्टि भयो। बागलुङमा उपचारपछि निको भएर यी महिला घर फर्किएकी छिन्।
समुदायमा पहिलो संक्रमण
चैत २२ गते एकै दिन ३ जना संक्रमित भेटिए। संक्रमित हुनेमा मुम्बईबाट फर्किएका कैलालीकाे लम्की चुहाका २१ वर्षीय युवक र भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष छन्।
यस्तै यसअघि धनगढीमा कोरोना संक्रमण देखिएका पुरुषकी ३४ वर्षीया भाउजूमा कोरोना पुष्टि भयो। विदेशबाट आएकाहरुमा मात्रै संक्रमण भएको थियो।
कैलालीमा समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि नेपाल सरकारले लकडाउनको समय थप्यो। परीक्षणको दायरा बढाउन र्यापिड टेस्ट पनि प्रयोगमा ल्याइयो। २१ वर्षीय पुरुष डिस्जार्च भइसकेका छन् भने अन्य दुईको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
मस्जिदमा बसेका तीन जनामा संक्रमण
चैत ३० गते पर्साको वीरगन्जमा तीन जनामा संक्रमण पुष्टि भयो। वीरगन्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो।
वीरगन्जको छपकैयास्थित एक मस्जिदमा बसिरहेका २१ जनामध्ये तीन जनामा कोरोना पुष्टि भएको हो। उनीहरु ३७, ४४ र ५५ वर्षका पुरुष हुन्। उनीहरुको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। उनीहरुलाई भारतीय भनिँदै आए पनि सरकारी निकायले औपचारिक रुपमा केही भनेको छैन।
नयाँ वर्षको पहिलो दिन २ संक्रमित
२०७७ वैशाख १ गते नेपालमा थप २ जना कोरोना संक्रमित भेटिए। संक्रमित हुनेमा कैलालीको लम्की चुहा नगरपालिकामा ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवक छन्। युवकको नारायणी अस्पताल वीरगन्जमा र महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
अपार्टमेन्टमा बसेका पनि विदेशबाटै आएका
वैशाख २ गते काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका तीन जनामा र्यापिड टेस्ट गर्दा भाइरसको आशंका देखियो। त्यसपछि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भयो।
संक्रमित हुनेमा ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुष छन्। उनीहरु बेलायतबाट आएका थिए। अहिले उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ।
एकै दिन १४ जना संक्रमित
वैशाख ५ गते १४ जना संक्रमित थपिए। उदयपुरमा १२ जना र चितवनमा २ जनामा संक्रमण पुष्टि भयो। उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १२ जना पुरुष हुन्।
उनीहरुमध्ये एकजनाको उमेर ४० वर्षको छ। अर्का एक ३६ वर्षका छन् भने अर्का ३४ वर्षका छन्। यस्तै २९ वर्षका दुई र २८ वर्षका चार जना छन्। २५, २२ र २० वर्षका एकएकजना छन्।
उनीहरुको कोसी प्रादेशिक अस्पताल विराटनगरमा उपचार भइरहेको छ। अस्पतालका अनुसार सबैको अवस्था सामान्य छ। १२ मध्ये ११ जना भारतीय रहेको बताइँदै आएको छ।
यस्तै चितवनका ६३ वर्षीया महिला र २७ वर्षका पुरुषमा संक्रमण देखिएको हो। उनीहरुको भरतपुरको अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। उनीहरु पनि बेलायतबाट आएका हुन्।
उदयपुरमा दोस्रोपल्ट
वैशाख ६ गते उदयपुरकै मस्जिदमा बसेका एक व्यक्तिमा संक्रमण पुष्टि भयो। उनी ६५ वर्षका पुरुष हुन्। उनको पनि कोसी अस्पताल विराटनगमा उपचार भइरहेको छ।
तीन महिना अवधिमा सरकारले चैत ११ देखि लकडाउन गरेको छ भने देशका विभिन्न अस्पतालमा कोरोना भाइरस परीक्षणको व्यवस्था गर्न थालेको छ। संक्रमण परीक्षणको दायरा भने बढाउन सकेको छैन।