नेपालमा कोरोनाको दोस्रो चरण सुरु भएपछि परीक्षणको दायरा बढाउन सरकारले पीसीआरसँगै र्यापिड टेस्टलाई तीव्रता दिएको छ। चैत २२ गते नेपालमा कोरोनाको लोकल ट्रान्समिसन सुरु भएपछि नेपालमा कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको भनिएको छ ।
त्यसयता सरकारले र्यापिड टेस्टलाई पनि प्राथमिकता दिएको हो । नेपालमा हाल र्यापिड टेस्ट र पिसीआर टेस्टबाट कोरोना संक्रमण भए–नभएको जाँच भइरहेको छ । समुदायस्तरमा ठूलो संख्यामा एण्टीबडी परीक्षणको लागि र्यापिट टेस्ट सुरु भएको हो। हालसम्म नेपालमा १६ हजार ५ सय ६५ र्यापिड टेस्ट गरिएको छ भने ७ हजार ६ सय ८८ जनाको पीसीआरमार्फत परीक्षण गरिएको छ ।
वैशाख १ गते कोरोना संक्रमणको सम्भावना नरहेको भन्दै क्वारेन्टाइनबाट घर फर्काइएकी कैलालीको लम्की चुहा नगरपालिका–१ भरुवाकी ६५ वर्षीया महिलाको घर पुगेको तीन दिनपछि पीसीआर रिपोर्ट पोजेटिभ आयो । उनी गत चैत २८ मा लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट विदा भएकी थिइन् ।
दुई हप्ते क्वारेन्टाइनपछि गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)मा समेत रिपोर्ट नेगेटिभ आएपछि उनी विदा भएकी हुन् तर उनी घर गएको ३ दिन पछि पीसीआर रिपोर्ट भने पोजेटिभ देखियो। उनी नेपालको १३ औं कोरोना संक्रमित हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको टोलीले गत २५ चैतमा नै ती महिलासहितको कोरोना परीक्षण गर्न आरडीटी र पीसीआरका लागि नमुना संकलन गरेको थियो । आरडीटीको नतिजा उतिखेरै आए पनि पीसीआरको भने नतिजा आउन ढिलाइ भयो । स्थानीय जनप्रतिनिधिले गत २८ चैतमा उनलाई संक्रमण हुन नसक्ने भन्दै क्वारेन्टाइनबाट मुक्त गरिदिए । तर त्यसको तीन दिनपछि रिपोर्ट आयो पोजेटिभ ।
वैशाख १ गते पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा एकै परिवारका ३ जनामा र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखियो । उनीहरुलाई तत्काल पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ जनाको पछिल्लो रिपोर्ट पाजेटिभ आयो र एक जनाको नेगेटिभ ।
‘भयावह स्थिति आउन सक्छ’
कैलाली र काठमाडौंका यी परीक्षणको घटनाले सरकारले देशभर आरडीटी किटमार्फत् शुरु गरेको परीक्षणप्रति नै शंका उत्पन्न भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना परीक्षणको लागि प्रमाणित नगरेको आरडिटी किटको भर पर्न नहुने तर्क कोरोनाकै उपचारमा संलग्न चिकित्सकहरु गरिरहेका छन्।
र्यापिड परीक्षण गर्दा फरक फरक नतिजा आइरहेको सन्दर्भमा यो विश्वसनीय नभएको उनीहरुको तर्क छ । र्यापिड टेस्ट किटबाट गरिएकै परीक्षणको आधारमा पोजेटिभ वा नेगेटिभ भएको यकीन गर्न सकिँदैन । मानिसमा कोरोना भए वा नभएको पुष्टि गर्न पीसीआर विधिबाटै परीक्षण हुन आवश्यक रहेको चिकित्सकहरु बताउँछन् ।
हाल नेपालमा विदेशबाट आएका, क्वारेनटाइनमा रहेका तथा कोरोना संक्रमितसँग नजिकमा रहेका व्यक्तिहरुको र्यापिड टेस्ट भइरहेको छ । र्यापि टेस्टमा पोजेटिभ देखिएपछि मात्रै पीसीआर परीक्षण गरिँदै आएको छ । तर र्यापिड टेस्ट किटले नेगेटिभ देखायो भने ढुक्क हुनसक्ने अवस्था छैन ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाका बिरामीको उपचारमा खटिएका एक चिकित्सक भन्छन्, ‘र्र्यापिड टेस्टमा नेगेटिभ देखिँदैमा ढुक्क हुने अवस्था हुँदैन । यसमा भर पर्ने हो भने नेपालमा पनि भयावह स्थिति आउन सक्छ ।’
उनका अनुसार नेपालमा अहिले जे जसरी परीक्षण भइराखेको छ, त्यो बिल्कुल गलत छ । अहिले नेपालमा केवल र्यापिड टेस्ट किटको प्रयोग गरेर संक्रमण देखिएमा थप परीक्षण गर्ने तर संक्रमण नदेखिएमा असंक्रमित भनेर घर पठाउने गरिएको छ ।
यो गलत मात्र नभएर जनस्वास्थ्यमाथिको ठूलो खेलबाड भएको विज्ञहरु बताउँछन् । र्याापिड टेस्ट किटमा संक्रमण भए पनि सुरुमै संक्रमण नदेखिने वा असंक्रमित हुँदा पनि संक्रमित देखिने दुवै प्रकारका कमजोरी छन् ।
संक्रमण नहुँदा पनि संक्रमण देखिए बरू उतिसारो फरक पर्दैन । संक्रमण छ भन्ने ठानिन्छ तर, संक्रमण हुँदाहुँदै पनि संक्रमण नभएको नतिजा देखिएर सो व्यक्ति समुदायमा फर्किंदा ठूलो जोखिम हुन्छ । यस्तो व्यक्तिमा वास्तविकतामा संक्रमण हुने हुँदा अरुलाई सार्न सक्छन्, जसले ठूलो जोखिम निम्त्याउन सक्छ । त्यसैले र्यापिड टेस्टलाई प्रमाणको रुपमा नलिन चिकित्सकहरु आग्रह गर्छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाका अनुसार भाइरस एकपटक शरीरमा प्रवेश गरिसकेपछि कति समयसम्म शरीरमा रहन्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक पर्छ । उनका अनुसार यो कुरा व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ ।
झा भन्छिन्, ‘कोभिड–१९ संक्रमित व्यक्तिको शरीरले दुई किसिमको एन्टिबडी बनाउँछ । शुरुमा बन्ने भनेको आइजीएम (इम्युनोग्लोबिन एम) र त्यसपछि आइजीजी (इम्युनोग्लोबिन जी) हो । आइजीएम रोग लागिसकेपछि तीन देखि ५ दिनमा वा सामान्यतया एक सातामा देखिन थाल्छ । यो व्यक्ति अनुसार फरक हुन्छ । आइजीएम झण्डै दुई तीन हप्ता शरीरमा रहन सक्छ ।
रोग लागेको दुई हप्तापछि आइजीजी भन्ने एन्टिबडी बन्न थाल्छ । यो आइजीजी एन्टिबडी शरीरमा महिनौंसम्म रहन सक्छ । शुरुमा रोग हुँदादेखि भाइरस मात्र भेटिने भयो । त्यसपछि ५ देखि ७ दिन बितिसकेपछि आइजीएम एन्टिबडी एन्टिबडी भेटिन सक्छ ।
त्यसपछि एक महिना पछि भाइरस नेगेटिभ हुनसक्छ । तर आइजीजी लामो समयसम्म रहन सक्छ । यसको मतलब हामीले परीक्षण गर्दा शुरुको दिनमा पीसीआर मात्र पोजेटिभ आउन सक्छ । एन्टिबडीको लागि गरिने परीक्षणहरु नेगेटिभ हुन्छ । हप्ता १० दिन पछि पीसीआरबाट पनि पोजेटिभ आउने र एन्टिबडीहरु पनि पोजेटिभ आउने हुनसक्छ ।
त्यस्तै, ३ हप्ता, ४ हप्ता वितिसकेपछि पीसीआर नेगेटिभ आउने तर एन्टिबडीको परीक्षण चाहिँ पोजेटिभ देखाउन सक्छ ।’
यस्तो अवस्थामा आउँछ आरडीटी नेगेटिभ, पीसीआर पोजिटिभ
– भाइरस संक्रमण भएको १–७ दिनभित्र (प्रारम्भिक चरण) अवस्थामा आरडिटी नेगेटिभ तर पिसीआर पोजेटिभ आउँछ ।
– संक्रमण भएको ७–२१ दिन (मध्यम चरण) अवस्थामा आरडिटी र पिसिआर दुवै रिपोर्ट पोजेटिभ आउँछ– शरीरभित्र उक्त दिनसम्म भाइरस रहेको अवस्थामा ।
– संक्रमण भएको १४–२१ दिन बितिसकेको अवस्थामा । शरीरबाट भाइरस हटिसकेको वा बिरामी निको हुने चरणमा रहेको अवस्थामामा आरडिटी पोजेटिभ तर पिसिआर नेगेटिभ आउँछ ।