आइतबार, असार ८, २०८२

कोभिड परीक्षण कति ? मन्त्रालयको तथ्यांक एउटा अस्पतालहरूको अर्कै

केन्द्रीय तथ्यांक र प्रादेशिक तथ्यांकमा फरक त छ नै। स्वास्थ्य मन्त्रालयको अघिल्लो दिनको कुल तथ्यांक भन्दा भोलिपल्टको तथ्यांकमा पनि १२९ ले कमी छ।
 |  शुक्रबार, वैशाख ५, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, वैशाख ५, २०७७

४ बैशाखसम्म १९ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस व्रिफिङमा दैनिक भएका गतिविधि, ल्याब परीक्षण लगायतका विषयमा जानकारी गराउँछन्।

मुलुकमा ४ चैतमा पहिलो अन्तरिक ‘केस’ देखिएपछि सरकारले पीसीआर र आरडीटी दुवै माध्यमबाट परीक्षण बढाएको बताउँदै आएको छ।

बिहीबारसम्म आरडीटीमार्फत् १२ हजार १९२ र पीसीआरमार्फत् सात हजार २४० परीक्षण भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। तर, पीसीआर परीक्षणको उक्त तथ्यांक अस्पतालहरूले सार्वजनिक गरेको तथ्यांकसँग मेल खाँदैन।

मन्त्रालयले ३ बैशाखमा सार्वजनिक गरेको तथ्यांकअनुसार कुल ६ हजार ८७१ जनाको पीसीआर परीक्षण भएको छ। ४ बैशाखको ३६९ नयाँ थप गरी कुल ७ हजार २४० नमुना पीसीआरमार्फत् परीक्षण गरेको छ।

त, मन्त्रालयले नै उपलब्ध गराएको केही प्रयोगशालाको तथ्यांक हेर्दा ३ भन्दा ४ बैशाखको तथ्यांकमा कम परीक्षण भएको देखिन्छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ३ बैशाखको परीक्षण गरिएको संख्या ३३५ छ भने ४ बैशाखको तथ्यांक २०६ छ।

तर, गण्डकी स्वास्थ्य निर्देशनालयको तथ्याकंमा भने हालसम्म सोही ल्याबमा ४१५ नमुना परीक्षण भएको छ।

यसरी केन्द्रीय तथ्यांक र प्रादेशिक तथ्यांकमा फरक त छ नै। स्वास्थ्य मन्त्रालयको अघिल्लो दिनको कुल तथ्यांक भन्दा भोलिपल्टको तथ्यांकमा पनि १२९ ले कमी छ।

त्यस्तै कर्णाली प्रादेशिक अस्पताल सुर्खेतको तथ्यांक र मन्त्रालयको तथ्यांक पनि मिल्दैन।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रादेशिक अस्पतालमा ३ बैशाखसम्म १४३ को पीसीआर परीक्षण भएको छ। ४ बैशाखमा ९७ मात्रै देखाइएको छ।

सुर्खेत प्रादेशिक अस्पतालका अनुसार बिहीबारसम्म कुल १५५ नमुना पीसीआरमार्फत परीक्षण गरिएको छ।

उता, सेती प्रादेशिक अस्पताल धनगढीको तथ्यांकमा गडबड छ। सेतीमा अघिल्लो दिन कुल १३८ भनिएकोमा भोलिपल्ट बिहीबारको तथ्यांकमा जम्मा २४ देखाइएको छ। तर, सेती प्रादेशिक अस्पतालका अनुसार त्यहाँ बिहीबारसम्म १४६ को पीसीआर परीक्षण गरिएको छ।

काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेलको तथ्यांकमा पनि त्यस्तै त्रुटि छ। बुधबार ३१९ परीक्षण भनिएकोमा बिहीबारको तथ्यांकमा १६७ मात्रै उल्लेख गरिएको छ।

भरतपुर कोभिड डाइगोनोस्टिक प्रयोगशालाको तथ्यांकमा पनि अघिल्लो दिनकोभन्दा भोलिपल्टको कुल परिक्षण २८ ले कम छ। अघिल्लो दिन १७८ भएको कुल तथ्यांक भोलिपल्ट १५० छ।

भरतपुर प्रयोगशालाका प्रवक्ता कृष्णसागर शर्माका अनुसार बिहीबारसम्म २३७ पीसीआर परीक्षण गरिएको छ।

प्रकाशित: Apr 17, 2020| 12:22 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्