काठमाडौं- मुलुकका शीर्षस्थ नेताहरुले कोरोना भाइरसको जोखिमबाट बच्न सबैलाई एकजुट हुन, लकडाउन र सामाजिक दुरी कायम गर्न तथा आपसी मेलमिलापबाट अभूतपूर्व राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन्। उनीहरुले नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै यस्तो अपिल गरेका हुन्।
प्रधानमन्त्री केपी ओलीले यस पल्ट नयाँ वर्ष उल्लास र उमंगको पर्व हुन नसकेको भन्दै शुभकामना दिएका छन्। उनले शुभकामना सन्देशमा भनेका छन्, 'नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठयारो परिस्थितिमा स्वागत गर्दछौं।'
जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दुरी : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन्।
नयाँ वर्ष २०७७ का उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले धर्तीमा कोरोना भाइरसले एक लाखभन्दा बढी मानिसको जीवन समाप्त पारिसकेको र लाखौंलाख संक्रमणबाट प्रभावित भई जीवनका निम्ति संघर्ष गरिरहेका बेला आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन्।
कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको जनाउँदै उनले अब हाम्रो अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि यहाँका आन्तरिक स्रोत उर्वर भूमि, जलसम्पदा, वनजङ्गल र जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु हाम्रो गहन दायित्व हुन आएको औंल्याएकी छन्।
वर्षको प्रारम्भिक महिनामै कोरोना नियन्त्रण हुन्छ : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७७ ले कोभिड–१९ विरुद्धको सङ्घर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने बताएका छन्।
नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले नयाँ वर्षको प्रारम्भिक महिनाहरूमै कोरोना महामारी नियन्त्रण हुने र देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पुरानै लयमा छिट्टै फर्कने विश्वास व्यक्त गरेका हुन्।
समृद्धि र दिगो विकास वर्ष बनाऔंं : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जितको वर्ष बनाउन आह्वान गरेका छन्। नयाँ वर्षका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले समृद्धि र दिगो विकासको बाटामा अघि बढेको वर्षका रुपमा नयाँ वर्षलाई स्थापित गर्न पनि आग्रह गरेका छन्।
उनले भनेका छन्, “नयाँ वर्षको आरम्भलाई कोरोना र सम्भावित अन्य महामारीलाई परास्त गर्ने दृढ सङ्कल्प गर्नुपरेकाले सोहीअनुसारको व्यवहारमा रही आपसमा शुभकामना आदानप्रदान गरेर स्वागत गरौँ ।”
सरकारको आह्वानलाई घरमै बसी परिपालना गर्नुस् : अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
उनले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले लिएका नीति निर्णयलाई अझ बढी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
कोरोनाबाट जोगिन सरकारले जारी गरेको निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई घरमै बसी परिपालना गर्नु नै उत्तम उपाय भएको बताउँदै उनले नयाँ वर्षले यस महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपालीलाई सामान्य अवस्थामा फर्कन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
संकटमा सँगै लड्न सकिन्छ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताएका छन्।
नयाँ वर्ष विसं २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेको उल्लेख गरेका छन्।
पूर्वप्रधानमन्त्री देउवाले यतिबेला सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त रहेको र यस वर्षको अन्तिम दिनसम्म विश्वका करिब १८ लाख व्यक्ति संक्रमित तथा एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको दुःखदायी घटना विश्वले व्यहोर्नुपरेको बताएका छन्।
लकडाउन पालना गरौं : दाहाल
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउनलगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गरेका छन्।
नव वर्ष २०७७ सालको अवसरमा सम्पूर्ण देशवासीमा शुभकामना दिँदै उनले उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा कोरोना भाइरसविरुद्ध विजय प्राप्त गर्न पनि विशेष अपिल गरेका छन्।
पूर्वप्रधानमन्त्री दाहालले सबै जाति, समुदाय, राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास गरेका छन्।