काठमाडौं । नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन । बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति रोजगारीको खोजीमा विदेशिएको छ ।
सरकारी निकायले पनि यसमा विशेष ध्यान दिन नसक्दा स्याउमा मुलुक आत्मनिर्भर बन्न सकेको छैन । देशभित्रै अर्बौं मूल्य बराबरको स्याउ फलाउने र विदेशसमेत बिक्री गर्न सकिने अपार सम्भावना रहेको भए पनि तारतम्य भने मिल्न सकेको छैन ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालीले स्याउ आयातका लागि मात्रै रु दुई अर्बभन्दा बढी खर्च गरेका छन् । विभागका अनुसार चालू आवको असोज मसान्तसम्म २ अर्ब २४ करोड ९६ लाख ३९ हजार रूपैयाँ बराबरको ३ करोड ४ लाख ४७ हजार रूपकेजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु २८ करोड पाँच लाख ८५ हजार बराबरको राजस्वसमेत संकलन गरेको छ ।
उत्तरी नाका बन्द हुँदा त्यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको विवरणमा उल्लेख छ । भारतबाट मात्र १ अर्ब ४९ करोड २४ लाख ४९ हजार रूपैयाँबराबरको स्याउ आयात भएको छ । त्यस्तै चीनबाट ७५ करोड ७१ लाख ८९ हजार रूपैयाँमा ७८ लाख ६८ हजार सात सय ९८ केजी स्याउ आयात भएको छ ।
विभागको विवरणानुसार नेपालमै उत्पादन गर्न सकिने कृषिउपज, फलफूलसमेत अत्यधिक आयात भइरहेका छन् । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा देशमा रु तीन अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यस्तै चालू आवको असोज मसान्तसम्म २९ करोड ७६ लाख ५६ हजार रूपैयाँका २८ लाख ७१ हजार १ सय ७६ केजी ताजा अनार आयात भएको देखिन्छ । त्यसबाट सरकारले ३ करोड ७२ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
केरा आयातमा १६ करोड बाहिरियो
नेपालीले तीन महिनाको अवधिमा १६ करोड २३ लाख ५९ हजार रूपैयाँ बराबरको केरा आयात गरेको छ । चालू आवको असोज मसान्तसम्म भारतबाट मात्रै कुल १ करोड १३ लाख ७ हजार ४ सय ४६ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले ७ करोड २ लाख २३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । तीन महिनाको अवधिमा मात्रै १४ करोड ८७ लाख ९२ हजार रूपैयाँ बराबरको २२ लाख १९ हजार चार सय ५७ केजी सुन्तला आयात भएको छ । त्यस्तै असोज मसान्तसम्म ११ करोड ८ लाख १४ हजार रूपैयाँ बराबरको खरबुुजा, १० करोड ८० लाख १५ हजार रूपैयाँ बराबरको मेवा आयात भएको तथ्यांकमा छ ।
पछिल्लो तीन महिनामा २ करोड ९१ लाख ७१ हजार रूपैयाँको किबी, १ करोड ४९ लाख ८ हजार रूपैयाँ बराबरको एभोगाडो आयात भएको देखिन्छ । यस अवधिमा अम्बा, आँपलगायतको आयातमा १८ करोड ७४ लाख रूपैयाँ बाहिर गएको छ । त्यस्तै नास्पाती भुइँकटहरलगायत फलफूल आयातमा करोडौँ रकम बाहिरिएको विवरणमा उल्लेख छ । रासस