सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टाइन रित्तै राखेर विदेशबाट आएकालाई ज्वरो नाप्दै घर पठाउँदै

क्वारेन्टाइन रित्तै राखेर विदेशबाट आएकालाई ज्वरो नाप्दै घर पठाउँदै

सुर्खेत– कर्णालीमा कोरोनाको संक्रमण रोकथाममा स्थानीय तहको भूमिका कमजोर देखिएको छ । स्थानीय तहहरु गम्भिर नहुँदा संक्रमणको जोखिम बढ्दो छ ।
 |  शुक्रबार, चैत २८, २०७६

देव राना

देव राना

शुक्रबार, चैत २८, २०७६

सुर्खेत– कर्णालीमा कोरोनाको संक्रमण रोकथाममा स्थानीय तहको भूमिका कमजोर देखिएको छ। स्थानीय तहहरु गम्भिर नहुँदा संक्रमणको जोखिम बढ्दो छ।

बाहिरबाट गाउँ भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राख्ने कार्यमा स्थानीय तहले गम्भिरता देखाएका छैनन्। यसले गर्दा गाउँमा निर्माण भएका अधिकांश क्वारेन्टाइन रित्तै छन्।

लकडाउनको अवधिमा गाउँ भित्रिएकाहरुले क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन्। मजदुरीका लागि भारतमा रहेका कर्णालीका अधिकांश नागरिक कोरोनाको त्रासपछि रातारात गाउँ पुगे।

सयौंको संख्यामा गाउँ पुगे पनि न्यून संख्यामा मात्र मानिसहरु क्वारेन्टाइनमा बसेका छन्। विशेषगरी स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह नगर्दा क्वारेन्टाइन प्रयोगविहीन छन् भने गाउँमा त्रास छाएको छ।

कतिपय स्थानीय तहले नै क्वारेन्टाइनमा बसेकाहरुलाई धमाधम घर पठाउने काम गरिरहेका हुन्। दैलेखको ठाँटीकाँध गाउँपालिकाले मापदण्ड अनुसारको क्वारेन्टाइन बनाउन नसक्ने बताएपछि त्यहाँ हालसम्म क्वारेन्टाइन छैन।

भारत र तेस्रो मुलुकबाट आएका एक सय २८ जना सबै घर परिवारसँगै बस्दै आएका छन्। विदेशबाट आएकालाई ज्वरो नापेर घर पठाउने ठाँटीकाँध मात्रै एक्लो होइन।

कर्णालीका ७९ वटै स्थानीय तहले विदेशबाट आएकालाई ज्वरो नाप्दै घर पठाउने काम गरिरहेका छन्। कतिपयले मापदण्ड अनुसार क्वारेन्टाइन बनाउन नसक्ने बताएका छन् भने बनाएकाले पनि क्वारेन्टाइन रित्तै राखेका छन्।

भारत लगायत देशबाट रातारात घर पुगेकाहरु क्वारेन्टाइनमा नबस्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढ्न थालेको हो। स्थानीय तहले बाहिरबाट भित्रिएकाहरुको तथ्यांक संकलन गरेर अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने भए पनि अधिकांश तहले यसतर्फ चासो दिएका छैनन्।

सुर्खेतमा ३ सय ४० बेडको क्वारेन्टाइनमा १५ जनामात्रै

र्भाकोट नगरपालिकामा तेस्रो मुलुकका १२ र भारतबाट ८१ जना गरी ९३ जना नागरिक गाउँ फर्किएका छन्। तर एक जना पनि क्वारेन्टाइनमा बसेका छैनन्। नगरप्रमुख हस्त पुनका अनुसार मेहलकुनामा सिटीहल र सहारे स्वास्थ्यचौकीमा गरी ४२ बेडको क्वारेन्टाइन खाली छ।

लेकबेशी नगरपालिकामा तेस्रो मुलुक र भारतबाट गरी ८६ जना गाउँ फर्किएका छन्। तर एक जना मात्रै क्वारेन्टाइनमा बसेका छन्। नगरप्रमुख गगनसिंह सुनारका अनुसार नगरपालिकाले तीन ठाउँमा २१ वेड क्षमताका क्वारेन्टाइनहरु खाली नै छन्।

पञ्चपुरी नगरपालिकामा पनि कोरोनाको त्रासपछि १ सय ३५ सय नागरिक गाउँ फर्किएका छन्। तर नगरपालिकाका विभिन्न ठाउँमा बनाएका ६५ बेड क्षमतका क्वारेन्टाइनहरु खाली छन्।

नगरप्रमुख उपेन्द्र थापाका अनुसार कुइनेमा १५ बेडको क्वारेन्टाइनमा भने ९ जना जाजरकोटका र १ जना घाटगाउँका गरी १० जना बसेका छन्। नगरपालिकाले सालकोट सामुदायिक स्वास्थ्य संस्थामा १० वटा बेड वइटिङ रुम बनाएको छ।

चौकुने गाउँपालिकामा भित्रिएका ४ सय २२ जनामध्ये २ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्। जवकी नगरपालिकासँग ६० बेड क्षमताको क्वारेन्टाइन छ। गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका अनुसार जीवनज्योति माविमा क्वारेन्टाइन बनाएको छ। बराहताल गाउँपालिकामा १ सय ८८ जना भित्रिएका छन्। तर गाउँपालिकाले क्वारेन्टाइनसमेत बनाउन नसकेको अध्यक्ष तेजबहादुर बस्नेतले जनाए।

चिङ्गाड गाउँपालिकामा पनि कोरोनाको त्रासपछि भारतबाट ८७ जना आएका छन्। तर कोही पनि क्वारेनटाइनबाट सकेका छैनन्। गाउँपालिकाले भने एक सय वेड क्षमताको क्वारेन्टाइन बनाएको अध्यक्ष देबबहादुर चन्दले जनाए। भेरीगंगा नगरपालिकाले पनि २४ बेडको क्वारेन्टाइन बनाएको छ।

तर भारत र तेस्रो मुलुकबाट आएका ८८ जना व्यक्ति घरमै बसेका छन्। त्यस्तै सिम्ता गाउँपालिकामा १ सय ५२ जना आएको मध्ये कोही पनि क्वारेन्टाइनमा बसेका छैनन्। गाउँपालिकाले भने बागेश्वरी माविमा तयार पारेको २८ बेडको क्वारेन्टाइन खाली छ। त्यस्तै वीरेन्द्रनगर नगरपालिकामा १ सय ८५ तेस्रो मुलुक र भारतबाट आएका सबै होम क्वारेन्टाइनमा छन्।

दैलेखमा आठ सय १२ बेडको क्वारेन्टाइमा २ सय ३५ जना

कोरोनाको त्रासपछि दैलेखको ठाँटीकाँध गाउँपालिकामा एक सय २८ जना नागरिक भारत र तेस्रो मुलुकबाट गाउँ फर्किएका छन्। तर एक जना पनि क्वारेन्टाइनमा बसेका छैनन्। गाउँपालिकाले अहिलेसम्म क्वारेन्टाइन नै बनाएको छैन। त्यस्तै भैरवी गाउँपालिकाले पालिकामा २४ जना गाउँ फर्किएका छन्।

तर एक जना पनि क्वारेन्टाइनमा बसेका छैनन्। पालिकाको केन्द्र र धुलेश्वर मावि चगत्रामा गरी २० बेडको क्वारेन्टाइन खाली रहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले जनाए।

डुङ्गेश्वर गाउँपालिकामा पनि ६४ जना नागरिक गाउँ फर्किएका कोही पनि क्वारेन्टाइनमा सबेका छैनन्। गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लका अनुसार पिपलचौतार माविको २० र चुप्राको १० गरी ३० वेडको क्वारेन्टाइन खाली छ।

त्यस्तै गुराँस गाउँपालिकामा कोरोनाको त्रासपछि एक सय २१ जना गाउँ फर्किएका छन्। ती कोही पनि क्वारेन्टाइनमा नबसेको गाउँपालिकाका अध्यक्ष खेमराज बताउँछन्। तर प्रस्तावित गुराँस अस्पतालको २ बेड आइसोलेसन र विभिन्न वडामा तयार पारिएका ६८ बेडको क्वारेन्टाइन भने रित्ता छन्। बरु भारतबाट फर्किएका २४ जना भने सुर्खेतमा खुल्लामञ्चको क्वारेन्टाइनमा बसेका छन्।

त्यस्तै मगवतिमाई गाउँपालिकामा पनि तीन जना तेस्रो मुलुक र ४७ जना भारतबाट गाउँमा आएपनि क्वारेन्टाइनमा बसेका छैनन्।

दुल्लु नगरपालिकामा पनि २ सय २२ जना गाउँ फर्किएका मध्ये २० जना मात्र क्वारेन्टाइनमा बसेका छन्। नगर प्रमुख घनश्याम भण्डारीका अनुसार एक सय ९० बेडका क्वारेन्टाइनहरु खाली छन्।

विभिन्न समयमा गरी नारायण नगरपालिकामा १ सय ३० जना गाउँ फर्किएका छन्। तर नगरपालिकाले तयार पारेको २० बेड आइसोलेसन खाली रहेको नगरप्रमुख रतनबहादुर खड्काले जनाए।

चामुण्डाबन्द्रासैनी नगरपालिकाको क्वारेन्टाइन भने भरिएको छ। १ सय १३ वेडको क्वारेन्टाइनमा १ सय १३ जना नै बसेका छन्। त्यहाँ पनि १ सय ८२ जना नागरिक गाउँ फर्किएका छन्।

त्यस्तै महावु गाउँपालिकाले आएका २९ जनामध्ये सबै होम क्वारेन्टाइनमा बसेका छन्। महावुले तयार पारेको २५ बेडको क्वारेन्टाइन खालि रहेको अध्यक्ष जंगबहादुर शाहीले जानकारी दिए।

त्यस्तै आठविस नगरपालिकाले एक सय ९३ बेडको क्वारेन्टाइन बनाएको छ। तर विभिन्न मुलुकबाट गाउँ गाउँ फर्किएका तीन सय ७७ जनामध्ये ८२ क्वारेन्टाइनमा बसेको प्रमुख प्रशासकीय अधिकृत युवराज न्यौपानेले जनाए।

नौमुले गाउँपालिकामा पनि ९७ जना गाउँ फर्किएका छन्। तर १९ बेडको क्वारेन्टाइन खाली रहेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जनाए।

सल्यानमा दुई सय ७० बेडको क्वारेन्टाइनमा २८ जना

सल्यानको शारदा नगरपालिकामा तीन सय ५० गाउँ फर्किएका छन् तर २० शैयाको क्वारेन्टाइन खाली छ।

त्यस्तै बागचौर नगरपालिकामा १२ जना विदेश र करिव दुई सयभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन्। तर २० बेडको क्वारेन्टाइन रहेको नगरप्रमुख लोकबहादुर बुढाले जनाए।

बनगाड नगरपालिकामा कोरोनाको त्रासपछि तेस्रो मुलुक र भारतबाट गरी आएका ७६ जना नागरिक आएका छन्। उनीहरु क्वारेन्टाइनमा बसेका छैनन्। नगरपालिकाले प्रभाकर माविमा २० बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याएको नगरप्रमुख गोविन्दकुमार पुन बताउँछन्।

कपुरकोट नगरपालिकामा कोरोना फैलिएपछि ९ जना तेस्रो मुलुक र १३ जना भारतबाट गरी २२ जना नागरिक गाउँ आएका छन्। तर नगरपालिकाले क्वारेन्टाइन बनाएको छैन। जनशक्ति अभाव र मापदण्ड अनुसार क्वारेन्टाइन बनाउन नसकिने भएका कारण गाउँपालिकाले क्वारेन्टाइन नबनाउने अध्यक्ष भिमबहादुर सेन बताउँछन्।

त्रिवेनी गाउँपालिकाले ४० बेड क्षमताको क्वारेन्टाइन बनाएको छ। तर वडा न १ मा ४ र वडा न २ मा १० जना गरी १४ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्। गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका अनुसार लकडाउन अवधिभन्दा पहिले आएका नागरिक होम क्वारेन्टाइनमा बसेका छन्।

कालिमाटी गाउँपालिकामा पनि विदेश र तेस्रो मुलुकबाट २० जना आएका सबै घरमै बसेका छन्। तर गाउँपालिकाले ८५ बेडको क्वारेन्टाइन तयार पारेको अध्यक्ष दानबहादुर केसीले बताए।

छत्रेश्वरी गाउँपालिकामा भारतबाट २३ गाउँ फर्किएका छन्। तर ४० क्वारेन्टाइनमा ७ जना क्वारेन्टाइन बसेका छन्।

सिद्धकुमाख गाउँपालिकामा युएई र भारतबाट गरी ३८ जना गाउँ फर्किएका छन्, कोही पनि क्वारेन्टाइनमा बसेका छैनन्। तर गाउँपालिकाले २५ वेडको क्वारेन्टाइन तयार पारेको अध्यक्ष चित्रबहादुर चलाउनेले जनाए।

कुमाख गाउँपालिकामा पनि १०३ जना गाउँ फकिएका छन्। २० बेडको क्वारेन्टाइन खाली छ।

दार्मा गाउँपालिकामा तेस्रो मुलुक र भारतबाट गरी १४८ जना गाउँ फर्किएका छन्। तर २० बेडको क्वारेन्टाइन खाली रहेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए।

मुगुमा दुई सय तीन बेडको क्वारेन्टइनमा ६ जनामात्रै

मुगुको मुगुमकार्माेरोङ गाउँपालिकाले ६० बेडको क्वारेन्टाइन बनाएको छ। भारत र अन्य मुलुकबाट कुनै पनि नागरिक गाउँ नफर्किए पनि अध्ययनका लागि काठमाडौं, नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट एक सय ६० भन्दा बढी नागरिक गाउँ पुगेका छन् तर उनीहरु क्वारेन्टाइनमा बस्न मानेका छैनन्।

त्यस्तै सत्याड गाउँपालिकाले ८२ बेडको क्वारेन्टाइन पारेको छ। एक सय बढी नागरिकहरु गाउँ भित्रिएपनि ६ जना मात्रै क्वारेन्टाइनमा बसेको गाउँपालिकाका अध्यक्ष उब्जन बहादुर शाहीले जनाए।

रारा छायानाथ नगरपालिकामा ४३ जना नागरिक गाउँ फर्किएपनि ३१ बेडको क्वारेन्टाइन खाली रहेको नगरप्रमुख हरिशजंग शाहीले जनाए। ३० बेडको क्वारेन्टाइन तयार पारेको सोरु गाउँपालिकाको क्वारेन्टाइन पनि खाली छ।

जुम्लामा दुई सय ४१ बेडको क्वारेनटाइनमा ७१ जना

जुम्लाका विभिन्न स्थानीय तहले ४१ वटा क्वारेन्टाइन तयार पारेका छन्। तर विदेशबाट आएका तीन सय ८४ जना माध्ये ७१ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्।

चन्दननाथ नगरपालिकाको ३०, हिमा ३२, पातारासीे १०, गुठिचौरले ६, तिलाले ५३, कनकासुन्दरीले २०, तातोपानीले ५० र सिञ्जा गाउँपालिकाले ४० बेडको क्वारेन्टाइन तयार पारेको छ।

जाजरकोटका क्वारेन्टाइन रित्तै

जाजरकोटमा तयार पारिएका एक सय ३७ वटा क्वारेन्टाइन खाली छन्। लकडाउन भएको हप्ता दिन बित्दासमेत क्वारेन्टाइन बनाउन अटेर गरेका स्थानीयले जिल्ला प्रशासनको उर्दिपछि जिल्लाभर १ सय ३७ वटा क्वारेन्टाइन बनाएका छन्।

तर एक जनालाई पनि क्वारेन्टाइनमा राख्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु साहनीले जानकारी दिए। जवकी लकडाउनकै अवधिमा १६ जना तेस्रो मुलुक र दुई सय १४ भारतबाट आएका छन्।

हुम्लामा १ सय २० बेडको क्वारेन्टाइनमा २२ जना

हुम्लाका ६ स्थानीय तहले १ सय २० बेडको क्वारेन्टाइन तयार पारेका छन्। तर अधिकांश क्वारेन्टाइन खाली छन्।

हुम्लामा नाम्खा, सिमकोट र खार्पुनाथमा २२ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्। तेस्रो मुलुक र भारत नागरिकहरु कमै मात्रमा भित्रिएका छन्। हुम्लाको नाम्खा गाउँपालिकाले विभिन्न ५ स्थानमा ३१ वेडको क्वारेन्टाइन बनाएको छ। खार्पुनाथ गाउँपालिकाले ७ बेडको क्वारेन्टाइन बनाएको छ।

कैल्याबालुमा गैर सरकारी संस्थाको भवनमा क्वारेन्टाइन बनाइएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जनाए। भारतबाट आएका चार जनामध्ये २ जनालाई मात्रै क्वारेन्टाइनमा राखिएको छ।

सिमकोट नगरपालिकाको साविकको सीता मेडिकलको भवनमा ५० वेडको क्वारेन्टाइन बनाएको छ। सोही भवनमा ४ बेडको आइसोलेसन पनि तयार छ तर त्यहाँ पनि १० जना मात्रै क्वारेन्टाइनमा बसेको गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले जनाए।

चंखेली गाउँपालिकाले ३ बेडको क्वारेन्टाइन बनाएको छ। भारतबाट झण्डै १ सय १० जना आए पनि क्वारेन्टाइनमा कोही नबसेको गाउँपालिकाका उपाध्यक्ष विमलाकुमारी शाहीले जानकारी दिइन्।

डोल्पामा सबै स्वदेशी

कोरोनाको त्रासका कारण डोल्पामा एक जना नागरिक पनि गाउँ फर्किएका छैनन्। जिल्ला प्रशासन कार्यालय डोल्पाले १३ दिनसम्म अध्ययन गर्दा भारत र तेस्रो मुलुकबाट एक जना पनि नभित्रिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

डोल्पामा अहिलेसम्म १३ बेडको आइसोलेसन र दुई सय ७० बेडको क्वारेन्टाइन बनेको छन्। नेपालगञ्ज र काठमाडौं लगायतका शहरबाट गाउँ फर्किएका एकसय ५५ जना क्वारेन्टाइनमा बसेका छन्।

कालिकोटमा ६ सय ९७ बेडको क्वारेन्टाइमा ८६ जना

कालिकोटका विभिन्न स्थानीय तहले ६ सय ९७ बेड क्षमताको क्वारेन्टाइन बनाएका छन्। तर जिल्लाभर ८७ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्। जसमध्ये कालिकोटको खाँडाचक्र नगरपालिकाले मान्मामा ४९ बेडको क्वारेन्टाइन बनाएको छ।

त्यस्तै राष्टकोट नगरपालिकाको भने प्रत्येक वडामा १०–१० र नगरपालिकामा १० गरी एक सय बेडको क्वारेन्टाइन तयार पारेको छ।

शान्नित्रिवेनी नगरपालिकाले ६ ठाउँमा क्वारेन्टाइन बनाएको छ। तर ४ जना क्वारेन्टाइनमा बसेका छन्। गाउँपालिकामा भारतबाट ४० र कतारबाट २० जना आएका छन्।
पचालझरण गाउँपालिकाले पनि ९ वटै वडामा क्वारेन्टाइन बनाएको छ।

त्यस्तै रुकुमपश्चिममा पनि दुई सय तीन बेड क्षमताको क्वारेन्टाइनमा २६ जनामात्रै बसेका छन्।

प्रकाशित: Apr 10, 2020| 15:08 शुक्रबार, चैत २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।