अर्थतन्त्रका चार प्रमुख क्षेत्रमा देखिएको समस्या सल्ट्याउने कांग्रेसले अठोट लिएको छ । शनिबार पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा वास्तविक, वित्तीय, मौद्रिक र बाह्य फाँटमा असर परेको र त्यसलाई वैचारिक धरातल, अभ्यास, जन्म, सिकाई र अनुभव तथा निजी क्षेत्र र नागरिक समाजसँगको परामर्श एवं प्राज्ञिक शोध र अन्तर्राष्ट्रिय साझेदारहरुको सल्लाहका आधारमा समाधान गर्ने उल्लेख गरेको छ ।
बाह्य क्षेत्रमा परेको चाप सहजीकरण गर्न शोधानान्तर बचत हासिल गर्नु पहिलो प्राथमिकता हो । क्षेत्रगत कर्जा विस्तार र वितरण, उच्च आयात प्रवाहको व्यवस्थापन र औपचारिक विप्रेषण वृद्धिका उपायहरु अवलम्बन गर्दै शोधानान्तर बचत हासिल गर्नु पर्ने छ ।
मुद्रास्फ्रीति नियन्त्रण अर्को तात्कालिक लक्ष्य हो । क्रमशः आर्थिक स्थायित्व सुनिश्चित गर्दै फराकिलो आर्थिक वृद्धि मार्फत् लाखौंको संख्यामा रोजगारी सृजना गर्न अर्थतन्त्रलाई आयातमुखीबाट उत्पादनमुखी बनाउनु पर्ने छ । सीपमूलक रोजगारीमा युवाहरुलाई अभिमुखीकरण गर्ने, विश्व मूल्य शृंखलामा जोडिदै औद्योगिकरणको प्रवद्र्धन गर्ने, अर्थतन्त्रको औपचारिकरणलाई तीब्रता दिने, उत्पादकत्व अभिवृद्धिको लागि पूर्वाधार निर्माण गर्ने र आर्थिक सुशासन कायम गर्नु कांग्रेसको प्राथमिकतामा परेका छन् ।
चुनौतीहरु समाधान गर्न नेपाली कांग्रेसको सरकारले तत्कालै ठोस पहल गर्ने उल्लेख गरिएको छ । अर्थतन्त्रको आकारको अनुपातमा वस्तु निर्यात घटेर ४ प्रतिशत र व्यापार घाटा बढेर ३६ प्रतिशत पुग्नु चिन्ताको विषय बनेको कांग्रेसको ठम्याइ छ । एकातिर आन्तरिक उत्पादन बढाएर आयात घटाउनु पर्नेछ भने अको तिर निर्यातका विविधिकरण र विदशी मुद्रा आर्जनका नयाँ स्रोतहरु पहिचान गर्नुपर्ने छ ।
सरकारी राजस्वले चालु खर्च धान्न हम्मेहम्मे भएको अवस्थामा पुँजीगत खर्चका लागि विदेशी ऋणदातामा निर्भरता बढ्दो छ । सार्वजनिक ऋणको आकार अहिले चिन्ताजनक बिन्दुमा नपुगे पनि परनिर्भरताको यो क्रम जारी रहे केही बर्ष भित्रै सार्वभौम ऋणको व्यवस्थापन चुनौतीपूर्ण बन्ने छ । त्यसैले तत्काल मितव्ययिताको बृहत् प्याकेज लागू गर्ने प्रतिबद्धता कांग्रेसले गरेको छ ।