काठमाडौं। चाडबाडका मुखमा मूल्यवृद्धि साढे ८ प्रतिशत नाघेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार मूल्यवृद्धि ८.६४ प्रतिशत पुगेको हो। केन्द्रीय बैंकका अनुसार २०७९ भदौमा मूल्यवृद्धि उक्त परिमाणबराबर थियो। अघिल्लो वर्ष सोही अवधिमा भने ३.४९ प्रतिशतमात्र थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.१७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ९.०२ प्रतिशत थियो।
गत वर्ष भदौको दाँजोमा यसपालि भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूलको मूल्यवृद्धि १७.२९ प्रतिशत, घ्यु तथा तेलको १४.५३, रेस्टुरेन्ट तथा होटलको १२.३०, मदिराजन्य पेय पदार्थको १०.२४ र तरकारी उमसमूहको मूल्यवृद्धि ९.९४ प्रतिशत छ।
त्यसैगरी गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातको मूल्यवृद्धि २३.४१ प्रतिशत, स्वास्थ्यको १०.५४, फर्निसिङ तथा घरायसी उपकरणको ९.२५, शिक्षाको ८.११ र घरायसी उपयोगका वस्तुको मूल्यवृद्धि ७.६९ प्रतिशत छ।
गत भदौमा काठमाडौं उपत्यकामा ७.६२ प्रतिशत मूल्यवृद्धि थियो। तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत र हिमालमा ६.६८ प्रतिशत थियो। गत वर्ष भदौमा भने काठमाडौं उपत्यकामा ३.२३ प्रशित, तराईमा ३.६५, पहाडमा ३.६९ र हिमालमा ३.५१ प्रतिशत मूल्यवृद्धि थियो।