कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न संस्था तथा व्यक्तिहरुले योगदान गरिरहेका छन् । सरकारले कोरोनाको संक्रमण बढ्दै गएपछि सोको उपचार तथा रोकथामका लागि ५० करोड राखेर कोष स्थापना गरेको थियो ।
हालसम्म सो कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट एक अर्ब १८ करोड ९५ लाख १० हजार ८८६ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सहसचिव राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
अस्ति शुक्रबारमात्रै कोषमा विभिन्न संघसंस्थाले ९ करोड ६९ लाख ८८ हजार ३०० रुपैयाँ जम्मा गरेका थिए।
पूर्व राजा ज्ञानेन्द्र शाहले पनि हिमानी कोषमार्फत् २ करोड रुपैयाँ सहयोग गरेका छन्।
कोष सञ्चालनका लागि निर्देशिका जारी गरिएको र कोषको लेखापरीक्षण महालेखा नियन्त्रकको कार्यालयले गर्ने भएकाले रकम हिनामिना नहुने दाबी सहसचिव पौडेलले गरे । कोष सञ्चालक समितिको अध्यक्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहनेछन् भने सदस्यहरुमा विभिन्न मन्त्रालयका सचिवहरु रहनेछन् ।
यी हुन् हालसम्मका ठूला दाता
नेपाल आयल निगम– ५० करोड
नेपाल दूरसञ्चार प्राधिकरण– १५ करोड
नेपाल टेलिकम– १२ करोड
एनसेल– १० करोड
बिमा समिति– ५ करोड
कर्मचारी सञ्चय कोष– ५ करोड
नेपाल धितोपत्र बोर्ड– ३ करोड
कर्जा तथा निक्षेप सुरक्षण कोष– ३ करोड
नेपाल स्टक एक्सचेन्ज– ३ करोड ५१ लाख
नागरिक लगानी कोष– २ करोड