काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने ऋण ४१.२९ प्रतिशत घटेको छ । साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ७९ करोड १० लाख रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ८ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।
गत वर्षको तुलनामा यो वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाको सेयर कर्जा ३१ अर्ब ७० करोड ९० लाख रुपैयाँ कम हो । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा १ करोड रुपैयाँभन्दा माथिको र ५० लाखदेखि १ करोड रुपैयाँसम्म जाने कर्जाको आकार घटेको छ । तर, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा भने बढेको छ ।
राष्ट्र बैंकका अनुसार गत साउन मसान्तसम्म १ करोडभन्दा माथिको सेयर धितोमा जाने कर्जा ६८.१३ प्रतिशतले घटेको छ । साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब माथिको सेयर धितो कर्जा ६१ अर्ब ५६ करोड ४ लाख रुपैयाँ प्रवाह भएको छ । गत साउन मसान्तसम्म कर्जा प्रवाह ७३ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।
यस्तै ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मका लागि जाने कर्जा २५.२५ प्रतिशतले घटेको बैंकले जनाएको छ । साउन मसान्तसम्ममा ५० लाखदेखि १ करोडसम्मको कर्जा १० अर्ब ३८ करोड रुपैयाँ प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब रुपैयाँ रहेको थियो ।
तरलताको अभाव भएको अवस्थामै बैंक तथा वित्तीय संस्थाले २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितोमा जाने कर्जा ०.२७ प्रतिशतले बढेर १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । गत असार मसान्तमा १४ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । यस्तै २५ लाख रुपैयाँसम्म जाने सेयर धितोकर्जा पनि ७.८ प्रतिशतले बढेर ८ अर्ब ३ करोड रुपैयाँ रहेको छ । गत साउन मसान्तमा ७ अर्ब ८६ करोड रुपैयाँ थियो ।
केन्द्रीय बैंकले २५ लाखसम्मको सेयर धितो कर्जामा जोखिमभार १०० प्रतिशतमात्र कायम हुने गरी एकीकृत निर्देशन जारी गरेको छ ।
यससँगै अब बैंक तथा वित्तीय संस्थाहरूले २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा प्रवाह गर्दा जोखिमभार १०० प्रतिशत कायम गरे हुनेछ ।
२५ लाख बढीको सेयर कर्जामा १५० प्रतिशत जोखिमभार कायम गर्नुपर्नेछ । २५ लाख कमको सेयर धितोकर्जाको जोखिमभार केही छुट दिँदा कर्जा लिने बढेको बैंकर संघका अध्यक्ष अनिल उपाध्यायले बताए । ‘मौद्रिक नीतिमा ४–१२ को सीमा परिमार्जन भएको छ,’ उनले भने, ‘पछिल्लो समय तलरताको समस्या छ । अहिले ४ को सीमा हटाएर १२ करोड रुपैयाँ कायम गरिएको छ ।’ उनले साना कर्जाको जोखिमभार कम हुँदा कर्जा बढ्न पुगेको बताए ।
राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा एकजना लगानीकर्ताले अधिकतम १२ करोड रुपैयाँ र एउटा बैंकबाट अधिकतम ४ करोड रुपैयाँ सेयर धितोमा कर्जा लिने पाउने व्यवस्था गरेसँगै १ करोड रुपैयाँभन्दा बढी प्रवाह हुने ऋण खुम्चिएको देखिन्छ ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएसँगै सेयर धितोमा जाने कर्जा न्यून देखिएको छ । अघिल्ला वर्षहरूमा १ करोड बढीको कर्जा बढेको र २५ लाखसम्मको कर्जा घटेको देखिन्छ ।