काठमाडौं। नेपाली मुद्रा अमेरिकी डलरसँग झनै कमजोर हुन पुगेको छ। अब १ डलर किन्न झन्डै १३० रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ। डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो। नेपाल राष्ट्र बैंकले शनिबार १ डलर बराबर १२९.८९ रुपैयाँ बिक्रीदर तोकेको छ।
शुक्रबार १ डलर बराबर १२९.६८ रुपैयाँ थियो। डलरको ग्राफ उकालो लाग्दै गएको छ। हरेक दिन नेपाली रुपैयाँ कमजोर हुँदै गएको छ। नेपालमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदै गएको छ।
डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीतिको ग्राफ पनि ८.२६ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ। भारतीय रुपैयाँ (भारू) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा परेको हो।
शनिबार १ डलरबराबर ८०.९१ भारू पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ। शुक्रबार ८०.७२ भारू थियो। भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ।

रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्वबजारमा डलर महँगो बन्दै गएको हो। डलर मजबुत भएपछि भारु कमजोर हुँदै गएको छ। डलर महंगो बने पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ। कच्चा तेलको मूल्य ब्यारेलको ८० डलर नजिक आएको छ।
भारू कमजोर भएपछि यसको असर नेपालमा पनि पर्ने गरेको छ। डलरको सञ्चिति घट्दै गएपछि भारतले सुन आयातमा भन्सारदर बढाएको छ। नेपालले पनि गाडीलगायत १० वस्तुको आयातमा प्रतिवन्ध लगाएको छ। नेपालको डलर सञ्चिति ९ अर्ब ४२ करोड रहेको छ।
यता मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर बढाएपछि उदीयमान अर्थतन्त्रबाट लगानी अमेरिकातर्फ गएको छ। उदीयमान अर्थतन्त्रबाट अमेरिकातिर लगानी प्रवाह होउन्जेल विश्वबजारमा डलर महँगो भइरहनेछ।
अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ। पेट्रोलियम पदार्थको मूल्य पनि बढेको छ। अहिले भारत, चीन, अमेरिका र युरोप मूल्य वृद्धिको चपेटामा छन। अमेरिकामा मूल्य वृद्धिदर दुई अंक नजिक पुगेको छ।

डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाहमा वृद्धि हुन्छ। यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउँछन्। रेमिट्यान्स आप्रवाह बढ्दा विदेशी मुद्राको सञ्चिति वृद्धिमा सघाउ पुग्नेछ। घटिरहेको विदेशी मुद्रा सञ्चिति बढाउन यसले सहयोग गर्नेछ। पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ।
यस्तै वस्तु निर्यात गर्ने उद्योगी र पर्यटन व्यवसायीलाई फाइदा हुन्छ। विदेशी बजारमा वस्तु निकासी गरेर डलर आर्जन हुने भएकाले बढेका बेला फाइदा हुन्छ । डलर बढेका बेला निर्यात बढाएमा उद्योगीले बढी नाफा कमाउने अवसर पाउनेछन।
डलर महँगो हुँदा मुलुकलाई फाइदाभन्दा बेफाइदा बढी हुन्छ। डलर महँगो भएपछि बजारभाउ बढ्छ र आयात गरिने वस्तु महँगो हुन जान्छ। अहिले नेपालमा पेट्रोलियम पदार्थको भाउ अकासिएर नयाँ रेकर्ड कायम गरेको छ।
यस्तै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगको उत्पादन लागतमा पनि वृद्धि भएको छ। डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा अतिरिक्त भार पर्छ भने नेपालले तिर्नुपर्ने दायित्व बढी हुनेछ।
यसैगरी विदेशी कम्पनीहरूले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ। लाभांश लैजानेलाई फाइदा हुनेछ। विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई डलरको भाउ बढेपछि असर पर्नेछ।