काठमाडौं। सरकारले गत वैशाख १३ बाट मोबाइल फोन र तयारी मदिरा आयातमा पूर्णप्रतिबन्ध लगायो। विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न आयात रोक्दा राज्यले ठूलो नोक्सानी बेहोरिरहेको छ।
सरकारले विदेशी मुद्रा जोगाउन उपयुक्त विकल्प ‘आयात प्रतिबन्ध’ रोजेको थियो। गत वैशाखमा राजपत्रमा सूचना प्रकाशित गर्दै ६ सय अमेरिकी डलरभन्दा माथिका मोबाइल र तयारी मदिरा आयात रोके पनि अनौपचारिक माध्यमबाट ठूलो परिमाणमा यी सामान भित्रिँदा बैधानिक व्यापारमाथि गम्भीर असर परेको छ भने राजस्वमा धक्का लागेको छ।
सीमाबाट सहजै भित्र्याउन सकिने वस्तु आयात रोकिएको छ। सरकारले आयात प्रतिबन्ध लगाएका वस्तुमध्ये सवारीसाधन मात्रै आउन पूर्णप्रतिबन्ध छ। त्यसबाहेक हरेक वस्तु चोरी पैठारी भएर नेपाली बजारमा छ्याप्छ्याप्ती छन्।
सरकारले ६ सय डलरभन्दा माथिका फोन आयातमा पूर्णबन्देज लगाएको छ। तर, यहाँ हरेक ब्रान्डका महँगा फोन सहजै उपलब्ध हुन्छन्। यतिसम्मकि, विश्वबजारमा भर्खरै सार्वजनिक भएको आइफोन–१४ सिरिजका मोबाइलसमेत नेपाली बजारमा खुलेआम बुकिङ भइरहेका छन्।
अनेक उपाय लगाएर मदिरा र मोबाइल नेपाली बजार भित्रिरहेका छन्। यसबाट सरकारले पाउने राजस्वमात्रै गुमिरहेको छ।
‘जुन ब्रान्डको मदिरा पनि सहजै पाइन्छ, तर आधिकारिकरूपमा भित्र्याउने भन्दा केही महँगो तिर्नुपर्छ। मोबाइलनमा पनि त्यस्तै छ,’ एक व्यापारीले क्यापिटल नेपालसँग भने, ‘बैधानिक बाटो बन्द गरेर सरकारले चोरी पैठारीलाई प्रश्रय दिएको देखिन्छ।’
मोबाइल र मदिरा व्यापारीले ६ महिनादेखि दुवै वस्तु आयात गरेका छैनन्। उनीहरूले यसअघि नै बैधानिक भित्रिएको मोबाइल र मदिराको मौज्दात सकिसकेको सरकारलाई जानकारी गराएका छन्। तर, अहिले पनि ती वस्तुको कुनै अभाव छैन। चोरी पैठारी भएर भित्रिएका सामानले नेपालको माग थेगेको उनीहरूको तर्क छ।
सरकारले भुक्तानी सन्तुलनमा परेको चाप कम गर्न आयात बन्द गरेको थियो। केन्द्रीय बैंकले प्रकाशित गरेको साउन महिनाको तथ्यांक हेर्दा भुक्तानी सन्तुलन गर्न गत वर्षभन्दा सुधारिएको देखिएको छ। यद्यपि, अहिले पनि २२ अर्ब घाटामा छ। गत वर्ष साउनमा ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा थियो।
त्यसैगरी चालु खाता घाटा पनि साउनमा गत वर्ष साउनको दाँजोमा केही कम भएको छ। चालु आर्थिक वर्ष साउनमा चालु खाता घाटा १६ अर्ब २६ करोडले मात्रै घाटामा छ। गत आर्थिक वर्ष साउनमा ४७ अर्ब २९ करोड रुपैयाँले घाटामा थियो।
‘आयात प्रतिबन्ध गरेपछि सिमानाकामा पूर्णरूपमा कडाइ गर्न सक्नुपथ्र्यो,’ अर्का एक व्यापारीले भने, ‘त्यो पनि सम्भव भएन, बैधानिक व्यापार पनि खत्तम भयो। चोरी पैठारी भएर भित्रिएका सामानले बजारमा कब्जा जमाएका छन्।’
मदिरा आयात तथ्यांक र भ्रम
नेपालमा वार्षिक १ करोड २० लाख डलरबराबरका विदेशी मदिरा भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। तर, सरकारले मदिराको कच्चापदार्थ र तयारी मदिरालाई एउटै डालोमा राखेर तथ्यांक प्रकाशित गर्दा भ्रम सिर्जना भएको मदिरा व्यापारीको तर्क छ।
नेपालमा जम्माजम्मी १ करोड २० लाख डलरबराबरको मदिरा भित्रिए पनि सरकारले ५ अर्ब ५० करोड रुपैयाँबराबर मदिरा भित्रिएको भनेर जनतामा भ्रम छरिरहेको देखिन्छ।
नेपाली रुपैयाँमा १ अर्ब ५० करोडको मदिरा आउने गरेको छ। बाँकीचाहिँ मदिरा बनाउन चाहिने कच्चापदार्थ आयात भएको भन्सार तथ्यांकमा देखिन्छ।
सरकारले १ अर्ब ५० करोड रुपैयाँ खर्चिंदा ३ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गरिरहेको थियो। १ अर्ब ५० करोड रुपैयाँ भनेको आयातको शून्य दशमलव १०० प्रतिशतमात्रै हुन आउँछ। ‘शून्य दशमलव १३ प्रतिशतलाई निरुत्साहित गरेर विदेशी मुद्रा सञ्चिति बढ्छ?,’ सम्बद्ध व्यापारीको प्रश्न छ।
सरकारले तयारी मदिरा र मदिराको कच्चापदार्थ एउटै ‘हार्मोनी कोड’ मा राखिदिएको छ। विदेशी मदिरा आयात गर्दा शून्य दशमलव १३ प्रतिशत विदेशी मुद्रा बाहिर जान्छ। तर, कूल राजस्वमा शून्य दशमलव ७३ प्रतिशत योगदान गर्ने सम्बद्ध व्यवसायी बताउँछन्।
‘कुल व्यापारमा मदिराको योगदान ठूलो भए आयात रोक्नु तर्कसंगत पनि हुन्थ्यो,’ ती व्यापारीले भने, ‘कूल व्यापारमा शून्य दशलमव १३ प्रतिशतमात्र योगदान छ भने आयात रोक्नु आवश्यक छैन। सरकारले आयात रोक्दा चोरी बाटोबाट मदिरा नेपाल भित्रिने र यसले राज्यको राजस्व पनि गुमिरहेको छ।’
मोबाइलको अवस्था उस्तै
अत्यधिक चोरी भएर भित्रिनेमा पर्छ मोबाइल फोन। सहजै र सजिलै लुकाएर ल्याउन सकिने र त्यसको असर देशको अर्थतन्त्रमा ठूलो पर्ने हुँदाहुँदै सरकारले लामो समयदेखि फोन आयात रोकेको छ।
तर, अहिले जतिसुकै महँगा फोन पनि नेपालमै किन्न सकिन्छ। यो तथ्यबारे सरकार राम्रोसँग जानकार छ। तै पनि आयात खोल्न सरकार तत्पर देखिँदैन।
फोन आयात रोक्दा सरकारले पाँच प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि गुमाएको छ भने अनौपचारिक अर्थतन्त्र पनि झाँगिँदै गएको छ।
उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका अन्य उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तास आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
सरकारले गत असार ३१ मा १४ भदौसम्मका लागि प्रतिबन्ध थप गरेको थियो। यसबीच व्यवसायीले महँगा मदिरा, महँगा गाडी, मोबाइल र १५० सिसीभन्दा माथिका मोटरसाइकल आयात खुलाउन सकारलाई दबाब दिँदै आएका थिए।