काठमाडौं । बिजुली बेचेर भारु कमाइरहेको नेपाल विद्युत प्राधिकरणले थप २१२ मेगावाट बिजुली निर्यातको प्रक्रिया अघि बढाएको छ । यो समेत गरी झण्डै ६ सय मेगावाट बिजुली भारत निर्यात हुनेछ । प्राधिकरणले भारतको केन्द्रीय विद्युत प्राधिकरणमा बिजुली बिक्रीका लागि प्रस्ताव पठाएको हो ।
त्यहाँबाट सहमति आउन बाँकी रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘दसैं र तिहार जस्ता चाडबाड पनि सुरु हुन लागेकोले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुने भएकाले बढी हुने बिजुली निर्यातको तयारी थालेको उनले सुनाए ।
उत्पादन भने पूर्ण क्षमतामा हुने तर खपत न्यून हुँदा २ सय मेगावाट थप विद्युत निर्यातको सहमतिका लागि प्रस्ताव पठाएका छौं, भारतीय पक्षबाट थप विद्युत निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त छौं’ उनले भने ।
यसअघि प्राधिकरणले १११ मेगावाट बिजुली निर्यातका लागि प्रस्ताव पठाएकोमा फेरि १०० मेगावाट निर्यातका लागि पत्राचार गरेको छ ।
प्राधिकरणले केही दिनअघि ४ जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारतको विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो ।
यसअघि प्राधिकरणले ४ जलविद्युत आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप ४ जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव पेश गरेको हो । चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य प्राधिकरणको छ ।
निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।
यसअघि ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युतगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।
जेठ २७ गतेबाट दैनिक रुपमा ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ ।
भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।