एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा एक पूर्व गोर्खा सैनिकको निधन भएको छ।
नेपालको संखुवासभा घर भएका लिलाबहादुर राईको मंगलबार निधन भएको उनको परिवारले जनाएको छ।
६६ वर्षीय राईको लण्डनस्थित नर्विच पार्क अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
राई आफ्नो परिवारसँग बेलायतको साउथ हारोमा बस्दै आएका थिए।
परिवारका सदस्यहरुका अनुसार राई केही दिनअगाडि अस्पतालमा भर्ना भएका थिए। तर उनलाई अस्पतालले मंगलबार नै डिस्चार्ज गरेको थियो।
उनको स्वास्थ्य अपरान्ह ४ बजेतिर एक्कासी बिग्रिएपछि पुनः अस्पताल लगिएकोमा राती ८ बजेतिर अस्पतालमा निधन भएको हो।
त्यसको तीन दिनपछि अस्पतालले उनको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको परिवारलाई जानकारी दिएको थियो।
राईको निधनपछि उनको परिवारका सबै सदस्य अहिले आइसोलेशनमा बसेका छन्।
राई २००८ मा बेलायत सरकारले पूर्व गोर्खा सैनिकलाई बेलायत बस्न पाउने घोषणा गरेपछि त्यहाँ स्थायी रुपमा बस्न थालेका थिए।
राईले बेलायतको गोर्खा सैनिकमा १७ वर्ष सेवा गरेका थिए। उनले दुई दशक अगाडि मिर्गौला प्रत्यारोपण गरेको परिवारले जनाएको छ।
साउथएसियाटाईम डटकमबाट