काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल भित्रिएका सबै मोबाइल फोन डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मा रजिस्टर भएका छन्।
विदेशबाट गिफ्टको रुपमा नेपाल भित्रिएका, विदेशबाट किनेर नेपाल ल्याई सञ्चालनमा रहेका फोनहरू स्वत रजिस्टर भएका छन्।
नेपालमा सञ्चालमा रहेका सबै मोबाइल फोन ह्वाइट लिस्टमा राखेर स्वत रजिस्टर गरिएको नेपाल दूरसंचार प्राधिकरणका सुचना अधिकारी सूर्य प्रसाद अधिकारीले बताए।
‘आजसम्म नेपालमा ल्याएर सञ्चालन आएका सबै फोनलाई हामीले ह्वाइट लिस्टमा राखिसकेका छौं,’ उनले भने, ‘सञ्चालनमा आएका सबै फोन स्वत रजिस्टर भइसकेका छन।’
एमडिएमएस प्रणाली लागू भएसँगै अब आउने नयाँ फोन अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ, अधिकारीले भने। उनले अवैध रूपमा भित्रिने फोनहरूलाई दर्ता नगरे ब्लक नै गर्ने योजना रहेको बताए।
‘अवैध रूपमा भित्रिएका फोनहरूलाई रजिस्टर गर्न एसएमएसमार्फत १५ दिनको समय दिनेछ,’ उनले भने, ‘१५ दिन भित्र रजिस्टर नभएको खण्डमा भने त्यस्ता फोनलाई ब्लक गरिनेछ।’
गत वर्ष प्राधिकरणले अवैध रुपमा आएका सबै फोन दर्ता गर्नुपर्ने भनेको थियो। तर, कार्यान्वयन हुन सकेको थिएन।