काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भन्सार र आन्तरिक राजस्वमाथि सूक्ष्म निगरानी बढाएको छ । एक सातादेखि आइएमएफले भन्सार र आन्तरिक राजस्व विभागबाट करका सम्पूर्ण विवरण लिइरहेको छ । विवरण लिने काम अझै सकिएको छैन ।
अर्थ मन्त्रालय स्रोतका अनुसार आइएमएफ टोली आन्तरिक राजस्व विभाग र भन्सार विभागमै बसिरहेको छ । उनीहरूले ‘सर्भर’ बाट करका सम्पूर्ण विवरण लिइरहेका छन् । भन्सार र आन्तरिक राजस्वबाट डेटा लिने, त्यसलाई विश्लेषण गर्ने र आवश्यक सुझाव दिने उनीहरूको तयारी छ ।
आइएमएफ टोली भन्सार र आन्तरिक राजस्व कार्यालयमै छन् । अझै एक साता दुई विभागमै रहेर उनीहरूले करका सम्पूर्ण विवरण लिने योजना छ । नेपालको कर प्रणालीमाथि अन्तर्राष्ट्रिय एजेन्सीहरूले बारम्बार प्रश्न उठाउँदै आएका थिए ।
नेपालको कर प्रणाली पारदर्शी नभएको, कर छली रोक्न नसकेको लगायत प्रश्न दुई विभागले सामना गरिरहेका थिए । कर प्रणाली वैज्ञानिक बनाउन आइएमएफले सुझाव दिने छ ।
आइएमएफले देशभरि करमा आबद्ध व्यवसायी, उनीहरूले तिर्ने करका सम्पूर्ण विवरण मागिरहेको छ । आन्तरिक राजस्व विभागमै बसेर उनीहरूले आयकर तिर्नेको सूची, अन्तःशुल्क तिर्ने कम्पनी, मूल्य अभिवृद्धि कर (भ्याट) मा आबद्ध कम्पनीका विवरण लिइसकेका छन् । ‘आइएमएफ टोलीले अन्य धेरै विवरण मागेका छन्,’ स्रोतले क्यापिटल नेपालसँग भन्यो ।
आइएमएफले भन्सार र आन्तरिक राजस्व सुधारमा महत्वपूर्ण काम गरिरहेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । केही समयदेखि नेपालमै आवासीय कार्यालय खोलेको आइएमएफले वित्तीय क्षेत्र सुधारमा निकै चासो दिइरहेको छ ।
सम्पत्ति शुद्धीकरण विभाग, नेपाल राष्ट्र बैंकसँग आइएमएफको निकटता अत्यधि थियो । अहिले आन्तरिक राजस्व विभाग र भन्सारसँग पनि मिलेर काम गर्न थालेको हो ।
नेपालको अर्थतन्त्रमाथि निरन्तर चासो र चिन्ता व्यक्त गर्दै आएको आइएमएफले सुक्ष्म निगरानीसमेत बढाएको छ । केही समयअघि मात्रै केन्द्रीय बैंकमार्फत चालु पुँजी कर्जा नीतिमा कडा प्रावधान राख्न लगाएको आइएमएफ अहिले कर प्रशासन सुधारमा लागेको हो ।
अर्थका अधिकारीहरूका अनुसार दुई निकायमा १४ दिनको ‘मिसन’ छ । ‘उक्त अवधिमा सम्पूर्ण विवरण लिन्छन्, भएका विकृति बाहिर ल्याउँछन्,’ एक अधिकारीले भने, ‘सुधारका लागि आवश्यक सुझाव पनि दिन्छन् । अहिले विवरण संकलन र विश्लेषणको काम भइरहेको छ ।’
उनीहरूको सुझावपछि नेपालको कर प्रशासनमा सुधार हुने अर्थका अधिकारीहरूको विश्वास छ । नेपालको अर्थतन्त्रमा विकृति मौलाउँदै गएपछि आइएमएफले नेपालमै आवासीय कार्यालय खोलेर कामको थालनी गरेको थियो ।
विगतमा केन्द्रीय बैंकमाथि मात्रै निगरानी बढाइरहेको आइएमएफले अहिले विभिन्न सरकारी एजेन्सीलाई पनि नियालिरहेको छ । नेपालका बैंक तथा वित्तीय संस्थाका काममाथि निरन्तर आइएमएफले प्रश्न गरिरहेको छ । बैंक तथा वित्तीय संस्थाले देखाउने गरेको खराब कर्जा प्रतिशत, कर्जा प्रवाहमा देखिएको विकृतिलगायत लिएर केन्द्रीय बैंकमाथि निरन्तर प्रश्न गरिरहेको थियो ।
अहिले केन्द्रीय बैंकसँगै सरकारी निकायमाथि पनि नियाल्न थालेको हो । खासगरी, सम्पत्ति शुद्धीकरण निवारणमा काम गर्ने संस्थामाथि आइएमएफको चासो छ । नेपालको कर प्रणालीमाथि व्यवसायीदेखि दातृनिकायसम्मले बारम्बार प्रश्न गरिरहेका थिए ।