काठमाडौं । ६ महिनादेखि रोकिएको आयात दसैंअघि नखुल्ने भएको छ । केन्द्रीय बैंकले निकाल्ने साउनको आर्थिक तथा वित्तीय स्थिति विश्लेषण गरेर मात्रै सरकारले वस्तु आयात खोल्ने वा नखोल्ने निर्णय गर्ने भएको हो ।
विदेशी मुद्रा सञ्चितिमा अझै दबाब रहेकाले भदौमा प्रकाशित आर्थिक अवस्था हेरेर मात्रै आयात खुलाउने बारेमा मन्त्रिपरिषदमा छलफल भएको हो । असोज लागेसँगै आयात खुलाए पनि दसैंका लागि नयाँ सामान आउने सम्भावना कम छ । दसैं अर्थतन्त्रमा आयात प्रतिबन्धले गम्भीर असर पर्ने देखिन्छ ।
अहिले आयात नखोलेपछि भदौं अन्तिम वा असोज लागेपछि खुलाउनुको कुनै अर्थ नभएको व्यवसायीको भनाइ छ । सरकारले आयात प्रतिबन्ध लगाएका कतिपय वस्तुको तस्करी निष्फिक्री भइरहेको छ । जसबाट राज्यले राजस्व नपाउनुका साथै आयात पनि रोकिएको छैन ।
सरकारको आयात प्रतिबन्धले गाडी मोटरसाइकलमात्रै चोरी भएर नेपाल भित्रिएका छैनन् । त्यसबाहेक मोबाइल, मदिरा, तास, हिरालगायत अन्य वस्तु चोरी पैठारी भएर नेपाल भित्रिरहेका छन् ।
एक मन्त्रीका अनुसार गाडी, मदिरा, मोबाइल, मोटरसाइकलसहित बिलासी तथा महँगा वस्तु आयातमा लगाउँदै आएको प्रतिबन्ध खुलाउन सरकारले केन्द्रीय बैंकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन भनेर अहिलेलाई कुनै पनि वस्तुको आयात खुलाउने निर्णय भएको छैन ।
नेपाल राष्ट्र बैंकले हरेक महिना आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । उक्त प्रतिवेदनमा डलर सञ्चिति अवस्थाबारे उल्लेख गरिएको हुन्छ ।
आयात खुलाउने पक्षमा सरकार रहे पनि हचुवा भरमा खुलाउँदा झनै समस्या उत्पन्न हुने भन्दै राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति हेरेर निर्णय गर्ने सहमति भएको एक मन्त्रीले जानकारी दिए ।
‘आयात प्रतिबन्ध लामो समय लम्ब्याउने पक्षमा सरकार छैन,’ बैठकमा सहभागी ती मन्त्रीले क्यापिटल नेपालसँग भने, ‘तर, डलर सञ्चिति नै कम छ भने त खुलाउने कुरा हुँदैन ।’
राष्ट्र बैंकले सार्वजनिक गरेको असार महिनाको प्रतिवेदनअनुसार कूल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर छ । उक्त सञ्चिति ६.९४ महिनाबराबरको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने उल्लेख छ ।
तर, साउनको प्रतिवेदन भने सार्वजनिक भइसकेको छैन । राष्ट्र बैंकले हरेक महिना मसान्तसम्ममा यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । यो आधारमा हेर्ने हो भने तत्काल आयात खुल्ने वा लम्बिने निर्णय कुर्न अझै दुई साता लाग्ने देखिन्छ ।
राष्ट्र बैंककै सुझावअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १४ देखि विभिन्न १० वस्तु आयातमा प्रतिबन्ध लगाउँदै आएको छ । बिलासी तथा महँगा सामान आयात गर्दा विदेशी मुद्रा सञ्चिति घटेको भन्दै राष्ट्र बैंकले तत्काल आयात प्रतिबन्ध गर्न सुझाव दिएको थियो । त्यही आधारमा अहिलेसम्म आयात प्रतिबन्ध जारी छ ।
पछिल्लो समय डलर सञ्चितिमा सुधार हुँदै आएको र रेमिट्यान्स आउने क्रम बढेको भन्दै व्यवसायीले प्रधानमन्त्री, मन्त्रीहरू र सचिवहरूलाई आयात खुलाउन ‘लबिङ’ गर्दै आएका छन् ।
सरकारले करिब ६ महिनादेखि बिलासी र महँगा सामानमा लगाउँदै आएको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुसहित मन्त्रीहरू आयात प्रतिबन्ध खोल्ने पक्षमा बाहिरी रूपमा देखिए पनि त्यसलाई केही समयका लागि लम्ब्याएका हुन् ।