काठमाडौं । सरकारले मोबाइल, गाडी, मदिरा र मोटरसाइकल आयातमा लगाएको प्रतिबन्ध कायमै राखेको छ । विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै सरकारले गत वैशाख १४ गतेदेखि यी वस्तुहरुको आयातमा प्रतिबन्ध लगाउँदै आएको थियो ।
यसअघि भदौ १४ गतेसम्मलाई प्रतिबन्ध लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसलाई निरन्तरता दिएको एक मन्त्रीले जानकारी दिए ।
दसैं-तिहार नजिकिएको र पर्यटकीय सिजन सुरु भएको भन्दै धेरैले मदिरा, मोबाइल र गाडी आयातमा लगाउँदै आएको प्रतिबन्ध खुल्ने आशा गरिरहेका थिए ।
उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले शनिबार एक सार्वजनिक कार्यक्रममै आयात प्रतिबन्ध लामो समयसम्म नरहने र केही दिनभित्रै नयाँ निर्णय आउने आश्वासन व्यवसायीहरुलाई दिएका थिए ।
तर, अहिलेकै अवस्थामा आयात प्रतिबन्ध फुकाउँदा समस्या आउने भन्दै यसलाई अझै केही समयका लागि प्रतिबन्ध कायम गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।
तथापी, आयात प्रतिबन्ध कहिलेसम्म रहने भन्ने जानकारी भने आइसकेको छैन । व्यवसायीहरुले भने महत्वपूर्ण चाडबाड नजिकिएको र व्यापार व्यवसाय हुने समयनै अहिले भएकाले तत्कालका लागि आयात प्रतिबन्ध खुलाउनु पर्छ भन्दै सरकारसँग लविङ गरेका थिए ।
नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने छ ।