काठमाडौं । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण (डीपीसी) का लागि विश्व बैंकले नेपाललाई करिब १३ अर्ब नेपाली रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिएकाे छ ।

सरकार र विश्व बैंकबीच साेमबार करिब १३ अर्ब नेपाली रूपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हाे । नेपाललाई हरियाली, जलवायु/उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सहयोग गर्ने यस प्रस्तावित बजेट सहयोग कार्यक्रमको लक्ष्य रहेको छ । ग्रिडअन्तर्गत तीन सहिलयतपूर्ण ऋण डीपीसीहरूको श्रृङखला मध्येको यो पहिलो हो ।
सम्झौतामा सरकारको तर्फबाट अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका हुन् ।
'कोभिड-१९ महामारीको परिप्रेक्ष्यमा नेपाल सरकार, विश्व बैंक, र विकास साझेदारहरूले महत्वपूर्ण काठमाडौं घोषणापत्रमा हस्ताक्षर गरेसँगै हरित, थप समावेशी र थप उत्थानशील विकासका लागि सरकारको लक्ष्यलाई सघाउन नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेकाे माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले बताए । उनका अनुसार यस अपरेसन प्रतिवद्धताको मुख्य अंश हो ।
कार्यक्रममार्फत जल, भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दीगो वन व्यवस्थापन, शहरी फोहोर र प्रदूषण लगायतका क्षेत्रहरूमा सरकारको प्राथमिकतामा रहेका नीतिगत कार्यहरूलाई सहयोग गर्ने उनले जानकारी दिए ।
ग्रिड डिपिसीको पहिलो चरणको अपरेसनमा प्राकृतिक पुँजीको दिगो र उत्पादक प्रयोग शहरी तथा ग्रामीण पूर्वाधार, मानव पुँजी र जिविकोपार्जनको क्षेत्रलाई जलवायु तथा वातावरणीय जोखिमविरूद्ध उत्थानशीलता र थप छरितो र स्वच्छ उत्पादन, खपत तथा आवागमनलाई बढावा दिने बताइएकाे छ ।
यस कार्यक्रमले ग्रिडअन्तर्गतका रणनीतिक परिवर्तन लागि सरकारकाले अवलम्बन गरेका नीतिगत कार्यहरूमा समर्थन गर्दछ जसले सबैको लागि समृद्धि निर्माण गर्नुका साथै कायम राख्न मद्दत गर्नेछ ।
यस कार्यक्रमले नेपालको अर्थतन्त्राई हरितकरण गर्नका साथै सामुदायिक वन, कृषि, स्वच्छ हावा, र ठोस फोहोर व्यवस्थापन जस्ता क्षेत्रहरूमा रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने जनाइएकाे छ ।
विकास सम्बन्धी निर्णय प्रक्रियामा समावेशितालाई सुदृढिकरण गर्नुका साथै श्रोत तथा सेवाहरूमा सबैको पहुँच बढाउनका लागि गरिने सुधार गर्ने जनाइएकाे छ ।
नेपालको ग्रिड मार्गतर्फको प्रस्थान भनेको यस अवसरले भरिपूर्ण तथा चुनौतीपूर्ण समयको लागि आवश्यक रणनीतिक कदम भएकाे सहसचिव ईश्वरीप्रसाद अर्यालले बताए ।
कोभिडबाट आर्थिक पुनरूत्थानका साथै हाल विद्यमान विपद, जलवायु तथा वातावरणीय जोखिमलगायत दिन प्रतिदिन जटिल बन्दै गएको नेपालको विकास सम्बन्धी चुनौतीहरूको माझमा गरीबी निवारण गर्दै देशको समृद्धिका लागि भइरहेको प्रगतिलाई विस्तार तथा संरक्षण गर्न यस परिवर्तनले सघाउने उनकाे भनाइ छ।