काठमाडौं । चारी पैठारीबाट नेपालमा विदेशी ब्रान्डका मदिरा भित्रिने क्रम तीव्र भएसँगै सरकारले आयात खुला गर्ने तयारी गरेको छ । विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै सरकारले गत वैशाख १४ बाट मदिरासहित १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो ।
पछिल्लो समय काठमाडौंका तारेहोटल सहित विभिन्न क्षेत्रमा चोरी पैठारीबाट विदेशी महँगा मदिरा आउन थालेका खबर सार्वजनिक भएसँगै सरकारले आयात प्रतिबन्ध खुलाउन लागेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले महँगा मदिरा, मोबाइल चोरी तस्करी भएर नेपाल आउने क्रम बढेको र नियन्त्रणमा समस्या देखिएको भन्दै वैधानिक रूपमै भित्रिन दिन आयात खुलाउने प्रस्तावमाथि सम्बन्धित निकायका अधिकारीसँग छलफल अगाडि बढाएका छन् ।
मन्त्रीनिकट एक अधिकारीका अनुसार भदौ १४ पछि विदेशी मदिरा, मोबाइल र कम सिसीका गाडी आयात खुलाउने गरी छलफल अगाडि बढेको छ ।
मन्त्री बडुले गत शनिबार एक कार्यक्रममा आयात प्रतिबन्ध लामो समय नरहने र केही वस्तुका आयात भने एकदुई दिनभित्रै खुल्ने बताएका थिए । आयात रोक्दा सरकारलाई ठूलो मात्रामा राजस्व गुमेको र बिस्तारै विदेशी मुद्रा सञ्चिति बढाउनका लागि प्रतिबन्ध फुकुवा गर्न आफू लागिपरेको उनले बताएका थिए ।
मदिरा आयातमा प्रतिबन्ध लगाए पनि विमानस्थल र विभिन्न नाकाबाट खुलेआम विदेशी मदिरा भित्रिने गरेको छ । जसका कारण प्रतिबन्धले सरकारलाई राजस्व गुम्नुबाहेक घाटा भएको देखिएको थिएन ।
‘त्यही भएर पनि मन्त्रीज्यूले मदिरा र मोबाइल आयात खुलाउने प्रस्ताव राख्नुभएको हो,’ ती अधिकारीले भने, ‘सम्भवतः भदौ १४ पछि प्रतिबन्ध खुल्छ ।’
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मुलुकमा वार्षिक १ करोड १० लाख अमेरिकी डलरबराबरको मदिरा भित्रिएको छ । यो भनेको ‘कस्ट इन्स्योरेन्स एन्ड फ्रेट’ (सिआइएफ भ्यालूु) हो ।
तीन महिनादेखि नेपालमा मदिरा आयात प्रतिबन्धित छ । त्यो बेलाको विनिमय दरअनुसार १ डलरबराबर १ज सय २२ रुपैयाँ थियो । त्यसैका आधारमा हेर्दा नेपालमा १ अर्ब ३४ करोड रुपैयाँबराबरका विदेशी ब्रान्डका तयारी मदिरा भित्रिएको देखिन्छ । यसभित्र वाइन, ह्विकी, जिन, रमलगायत पर्छन् ।
कम सिसीका गाडी आयात खुल्ने सम्भावना
विशेषगरी दसैं–तिहार नजिकिएसँगै सरकारले कम सिसीका गाडी आयात पनि खुलाउने तयारी गरेको छ । चाडपर्वका बेला धेरै गाडी बिक्री हुने भन्दै व्यवसायीले आयात खुलाउन लामो समयदेखि ‘लबिङ’ गर्दै आएका छन् । तर, सरकारले सकारात्मक प्रतिक्रिया दिए पनि प्रतिबन्ध जारी थियो ।
तर, योपटक भने कम सिसीका गाडी आयात खुलाउने र केही समयपछि सबै प्रकारका गाडी भित्र्याउन दिने योजना सरकारको छ । अहिले पेट्रोलियम गाडी पूर्णरूपमा प्रतिबन्धित छ ।
यसबाट सरकारलाई ठूलो परिमाणमा राजस्व गुमेको भन्दै अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव कृष्णहरि पुस्करसमेत आयात खुलाउने विषयमा सकारात्मक देखिएको एक अटो व्यवसायीले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि आयात खुलाउन सकारात्मक देखिएका थिए । तर, अन्तिममा अवस्था सामान्य नभएको भन्दै साउन १ देखि ४५ दिनका लागि आयात प्रतिबन्ध थपिएको थियो ।
गाडी आयातमा प्रतिबन्ध जारी राखेकै कारण नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएन नाडाले गर्ने भनेको ‘नाडा अटो शो’ समेत स्थगित गरेको थियो । अहिले नाडाले आगामी असोजमा विद्युतीय गाडीमात्र लक्ष्य गरी अटो शो गर्ने तयारी गरिरहेको छ ।