काठमाडौं । राजस्व अनुसन्धान विभागले गरेकाे छापा प्रवाह नगरी पूर्वका दुई र बुटवलको एक कम्पनीले अझै न्यून मूल्यांकनमा विद्युतीय रिक्साका ब्याट्री भित्र्याउने प्रयास जारी राखेका छन् ।
विभागले साउन २७ मा सुनसरीको शुभलक्ष्मी इन्टरप्राइजेजमा छापा हानेर चार वर्षको कागजात नियन्त्रणमा लिएको थियो । उक्त कम्पनीमाथि छापा हानेको १२ दिन नबित्दै तीन कम्पनीले पुनः न्यून मूल्यांकनमा विद्युतीय रिक्साका ब्याट्री आयातको प्रयास गरेका छन् ।
स्रोतका अनुसार बुटवलको मणिरत्न मल्टीट्रेड, मनकामना स्क्रप र पाथिभरा अटो कम्पनीले बारम्बार न्यून मूल्यांकनमा ब्याट्री नेपाल भित्र्याउने प्रयास गरेका हुन् ।
उनीहरू सहित शुभलक्ष्मीले बारम्बार न्यून बिजकीकरण गरेर ठूलो परिमाणमा ब्याट्री भित्र्याएर राज्यलाई राजस्व नोक्सानी पुर्याइरहेका थिए । शुभलक्ष्मी राजस्वको फन्दा परेकाले उसले अहिले कुनै गतिविधि गरेको छैन भने अन्य तीन कम्पनीहरू अझै भन्सारका अधिकारीसँग सेटिङ मिलाएर ब्याट्री भित्र्याउन लागि परेका छन् ।
बंगलादेशको ब्याट्री उत्पादक कम्पनीबाट ९० डलरमाथि पर्ने विद्युतीय रिक्साका ब्याट्रीहरु ५० देखि ६२ डलरमा भित्र्याइरहेका थिए । तर, केही दिनयता राजस्व अनुसन्धान, आन्तरिक राजस्व विभाग र भन्सार विभागले न्यून बिजकीकरण गर्नेमाथि कडा निगरानी बढाए पनि कर छलेर सामान भित्र्याउन व्यापारीहरुले बारम्बार प्रयास गरिरहेका छन् ।
भन्सारको सन्दर्भ मूल्य पुस्तिकामा विद्युतीय रिक्साका ब्याट्रीको न्यूनतम मूल्यांकन ५० डलर तोकिएको छ । त्यही मूल्यलाई देखाएर मूल्यांकन गराउने र बाँकी रकम उत्पादकलाई हुन्डीमार्फत भुक्तानी गर्ने कार्य व्यापक छ । एकातिर उत्पादकलाई हुन्डीमार्फत भुक्तानी गर्ने र अर्कोतिर राज्यलाई ठूलो परिमाणमा राजस्वसमेत नोक्सान हुने गरेको छ ।
वास्तविक मूल्य नदेखाइ ब्याट्री भित्र्याउने व्यापारीले नेपालमा ब्याट्रीको कारोबार गर्दा पनि आधा नगद लिने र आधा मात्रै बैंकबाट कारोबार गर्दै आएको व्यापारीहरू नै बताउँछन् ।
‘नगद कारोबार रेकर्ड कतै देखिँदैन,’ एक व्यापारीले क्यापिटल नेपालसँग भने, ‘बैंकबाट गरेको कारोबार मात्रै रेकर्ड देखिने र त्यही बराबरको मात्रै कर तिर्ने काम हुन्छ । बाँकी नगदमा लिएको रकम रेकर्डमा नदेखिएकाले वास्तविक रूपमा तिर्नुपर्ने आयकरसमेत छली भएको हो ।’
नेपालमा आधा दर्जनभन्दा बढी कम्पनीले बंगलादेशबाट विद्युतीय रिक्साको ब्याट्री आयात गर्छन् । आधा दर्जनमध्ये दुईदेखि तीन वटा मात्रै वास्तविक मूल्यांकनमा ब्याट्री झिकाउँछन् । बाँकी सबै कम्पनीले न्यून मूल्यांकनमा ब्याट्री मगाउने गरेका छन् ।
बंगलादेशबाहेक भारतबाट पनि विद्युतीय रिक्साको ब्याट्री आयात हुन्छ । भारतबाट आयात हुने हरेक ब्याट्री वास्तविक मूल्यांकनमा आउने गरेको व्यापारीहरु नै बताउँछन् ।