शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्दा गुल्मी धुर्कोटका विनोद खड्का सामान प्याक गर्दै थिए । विनोदको मुहारमा थोरै खुशी झल्किएको थियो ।
कारण– उनकी पत्नी अनिताको घाँटीको अप्रेसन सफल भएको थियो । चिकित्सकले अस्पतालबाट डिस्चार्ज गर्ने अनुमति दिइसकेका थिए । पत्नीको शल्यक्रिया सफल भएकोमा खुशी भएका विनोद सामान प्याक गर्दैगर्दा उदास देखिए ।
अस्पतालबाट डिस्चार्ज भए पनि विनोदले अनितालाई घर लैजान पाउँदैनन् । बसुन्धराको नेचुरोपेथी अस्पतालमा लैजानै छ अनितालाई । गएको नौ महिनादेखि अस्पतालमै बास छ विनोदको ।
अस्पतालको बेडमा रहेकी अनिताको शरीर सिन्काजस्तै सुकेको छ । नाकमा पाइप, पिसाबको लागि थैली झुण्ड्याइएको छ । २४ वर्षे अनिताको तौल छ, जम्मा २७ किलो ।
०००
०७२ सालमा अनिता र विनोद वैवाहिक सम्बन्धमा गाँसिएका थिए । घर गुल्मी भए पनि विनोद अनितासँगै भैरहवामा बस्न थाले । बिहेको दुई वर्षपछि छोरी आहनाको आगमनले उनीहरुको जिन्दगीमा खुशी थपिदिएको थियो ।
जिन्दगी ठिकैठाक चल्दै थियो। गएको जेठबाट भने सबैकुरा गडबड हुन थाल्यो। बुटवलमा घर बनाउने, छोरीलाई राम्रो स्कुलमा पढाउने, पति–पत्नी दुवैले जागिर गर्ने विनोदको योजनामा पानी पोखियो।
जेठ २९ गते । सदाजस्तै विनोद खड्का काममा व्यस्त थिए । बेलुका ५ बज्नै लाग्दा पत्नी अनिताले खप्नै नसक्नेगरी टाउको दुखेको भन्दै विनोदलाई फोन गरिन् । अनिताको आत्तिएको आवाज सुन्नासाथ विनोद हतारहतार कामबाट घर फर्के ।
घर फर्कंदा अनिता छटपटाइरहेकी थिइन् । विनोदले भैरहवाको युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्समा पुर्याए । चिकित्सकले ब्रेन ह्यामरेज भएको बताए । तत्कालै अनिताको सोही अस्पतालमा अप्रेसन गरियो । अप्रेसनपछि अनितालाई ४ महिना अस्पतालमै राख्नुपर्ने भयो । ४ महिना राखियो पनि तर त्यसपछि पनि अनितालाई पूर्णरुपमा निको भएन ।
लामो समय भ्यान्टिलेटरमा राख्दा श्वासप्रश्वास नलीमा समस्या देखियो । अनिता दुब्लाउँदै जान थालिन् । असामान्य रुपमा तौल घट्दै ४५ किलोकी अनिताको तौज २५ किलोमा झर्यो ।
४ महिनाको अस्पताल बसाइमा विनोदले आफूले जीवनभर कमाएको १८ लाख खर्च गरिसकेका थिए । तरपनि अनितालाई सञ्चो हुन कुनै लक्षण देखिएन । त्यत्रो खर्च गर्दा पनि युनिभर्सल मेडिकल कलेजले उपचार सम्भव नहुने बताएपछि उनीहरुलाई अर्को आपत आइलाग्यो ।
आफन्त र चिनजानका मानिसले पनि निरासा जगाइदिने काममात्रै गरे । ‘अनितालाई अब निको हुँदैन, थप प्रयास नगर’ भन्नेहरु धेरै थिए । अनिताको अवस्था झन् बिग्रँदै गयो । उनी अचेतजस्तै बनिन् ।
अन्ततः विनोदले पनि आफन्तको सल्लाहअनुसार अनितालाई बचाउन सकिने आश गर्न छोडे र गुल्मीमा लगेर बैतरणी कर्म गरे ।
अनिताको दुखाइ बढ्दै गयो । निको नभएपनि बाँचुञ्जेल पीडा नहोस् भनेर विनोदले काठमाडौं ल्याए । अनिता झन् झन् कमजोर बन्दै गइरहेकी थिइन्, हातखुट्टा चल्न छोडेका थिए ।
अनितालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरियो । अस्पतालको उपचारले अनिताको स्वास्थ्यमा सुधार आउने केही आशा जगाइदिएको थियो । केही समयको उपचारपपछि अनितालाई थेरापीको आवश्यकता पर्यो । उनीहरु काठमाडौं नेचुरोपेथी अस्पताल वसुन्धारा पुगे ।
त्यहाँ पनि पनि विनोद र अनिताले ४ महिना बिताइसकेका छन् । श्वासनलीमा समस्या देखिएपछि विनोदले घाँटीको अप्रेसनको लागि त्रिवि टिचिङ अस्पतालमा लगेका थिए । अप्रेसन सफल भएपछि पुनः नेचुरोपेथी अस्पतालमा फर्कनुपर्ने हुन्छ ।
अनिताको टाउकोको दिमाग छोप्ने खप्पर अझै भैरहवा अस्पतालमै छ । उनलाई निको भएपछि त्यो राख्न मिल्ने चिकित्सकले बताएका छन् ।
लामो समयको उपचारपछि अहिले पत्नीको स्वास्थ्यमा आएको परिवर्तन देखेर विनोदको अनुहारमा खुशी देखिन थालेको छ । अनिताले पनि हातखुट्टा चलाउन थालेकी छन् भने भेट्न आउने मान्छेहरुसँग मुसुक्क हाँस्छिन् । अडेस लगाइदिँदा २–४ मिनेट बस्न थालेकी छन् ।
छोरी आहना विनोदकी दिदीसँग काठमाडौंमै बस्छिन् । भर्खर स्कुल जान थालेकी छन् । बिदाको समयमा आमालाई भेट्न अस्पताल पुग्छिन् । विनोदले पनि अनिताको काखमा छोरीलाई सुताइदिन्छन् अनि अनिता मुसुक्क मुस्कुराउँछिन् ।
अनिताको उपचारमा २५ लाखभन्दा धेरै खर्च भइसकेको छ । अहिलेसम्म कमाएको पैसा पत्नीकै उपचारमा सकिएको छ । तरपनि विनोदलाई कुनै लोभ छैन, अनितालाई निको बनाउनमा मात्रै उनले ध्यान दिएका छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण उनले सहयोगको लागि अपिल पनि गरेका छन् । विनोद भक्कानिँदै भन्छन्, ‘भएको पैसा सबै सकियो, बल्ल बल्ल बाँच्ने आशा जागेको थियो तर पैसा नहुँदा त्यही आशा पनि निराशामा बदलिएको छ ।’ उपचारको लागि अझै कति पैसा र समय लाग्छ, विनोदलाई थाहा छैन ।
नौ महिनादेखि निरन्तर अनिताको सेवामा छन् विनोद । सानो बच्चालाई जस्तै माया गरिरहन्छन् । अनितापनि विनोदले गरेको माया देखेर मुहारमा हेर्दै मुस्कुराउँछिन् । विनोदले अनितालाई आफैंले डाइपर फेरिदिन्छन्, नुहाइदिन्छन्, खुवाउँछन् । देख्नेहरु भन्छन्, ‘पतिको गरिबीमा पत्नी चिनिन्छन्, पत्नी बिरामी पर्दा पति चिनिन्छन् । पति हुनु त यस्तो पो !’
याे पनि...