काठमाडौं । नेपालबाट भारतमा बिजुली निर्यात बढेको छ । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले ४९ करोड ३० लाख युनिट बिजुली भारतमा निर्यात गरेको हो ।
अघिल्लो वर्ष ४ करोड ४० लाख युनिट मात्र बिजुली भारत निर्यात गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बिजुली निर्यात ४४ करोड ९० लाख युनिट बढेको विद्युत प्राधिकरणले जनाएको छ ।
भारतले ३६४ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएपछि परिमाण बढेको हो । जेठ अन्तिम सातादेखि प्राधिकरणले भारतमा बिजुली निर्यात थालेको हो । सुक्खायाममा विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म तिरेर बिजुली खरिद गरेको थियो ।
यस्तै प्राधिकरणले भारतलाई पनि प्रतियुनिट १९ रुपैयाँसम्ममा बिजुली बेचेको छ । सुक्खायामका कारण नदीहरुमा पानीको वहाव कम हुने भएकाले यसको असर बिजुली उत्पादनमा पर्ने गर्छ । आउँदो हिउँदमा पनि भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था छ ।

गत वर्ष ठूलो परिमाणमा निर्यात हुन थालेपछि भारतबाट आयात हुने बिजुलीको परिमाण ४५ प्रतिशतले घटेको छ । गत वर्ष १ अर्ब ४५ करोड युनिट बिजुली भारतबाट आयात भएको छ । अघिल्लो वर्ष २ अर्ब ८० करोड युनिट आयात भएको विद्युत प्राधिकरणले जनाएको छ ।
गत वर्ष नेपालको ग्रीड प्रणालीमा भारतीय बिजुलीको हिस्सा घटेर १३.९४ प्रतिशतमा झरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्षमा भारतमा १६ अर्ब रुपैयाँको बिजुली बेच्ने घोषणा गरेका छन् ।
पाइपलाइनमा रहेको आयोजनाहरु आएमा यो आर्थिक वर्षको वर्खामा ६१३ मेगावाटसम्म बिजुली भारतमा निर्यात गर्ने प्रक्षेपण सार्वजनिक गरेको छ ।
यस्तै बिजुली चुहावट पनि घटेर १५.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष १७.१८ प्रतिशत चुहावट थियो । बिजुली चुहावट कम भएको, विद्युतगृहहरुबाट उत्पादन बढेको र निर्यात बढेका कारण गत आर्थिक वर्षमा विद्युत प्राधिकरणले १६ अर्ब १६ करोड रुपैयाँ खुदनाफा गरेको छ ।
गत आर्थिक वर्षमा राष्ट्रिय प्रणालीमा बिजुली आपूर्ति २५ प्रतिशतले बढेर ११ अर्ब ६ करोड युनिट बिजुली उपलब्ध भएको प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष ८ अर्ब ८५ करोड युनिट आपूर्ति भएको थियो ।
विद्युत प्राधिकरणका आयोजनाको मर्मत सम्भार हुँदा बिजुली उत्पादन १६.२३ प्रतिशतले बढेर ३ अर्ब २६ कराड युनिट पुगेको छ । यस्तै निजी उत्पादकबाट प्राप्त हुने ऊर्जा ३८.५७ प्रतिशतले बढेर ४ अर्ब २८ करोड युनिट बिजुली प्राप्त भएको छ ।
प्राधिकरणका सहायक कम्पनीबाट प्राप्त हुने बिजुली १२३५ प्रतिशतले बढ्न गई १ अर्ब ९७ करोड युनिट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।