एजेन्सी- कोरोनाभाइरसको प्रभाव दखिएका कारण इटालीका केही ठूला फुटबल खेल दर्शकको अनुपस्थितिमा हुने भएका छन्।
भाइरसको प्रभाव बढ्दै गएकाले इटालीको सरकारले खेलमा दर्शकको आगमनलाई बन्द गर्ने निर्णय गरेको हो।
इटालीका खेलमन्त्री विनसेन्जी स्पाडाफोराले क्याबिनेट बैठकपछि यस्तो बताए।
उनले भने, ‘कोविड–१९ को संक्रमितको संख्या लगातार बढिरहेको छ। उत्तरी इटलीको ६ सहरमा पहिलाबाटै खेल आयोजना बन्द भएका छन्।
यसकारण हामीले स्टेडियममा फ्यानको इन्ट्री बन्द गरेका हौँ।’ तर खेलमन्त्रीले कति खेलका लागि दर्शकलाई प्रतिबन्ध लगाउने बारे भने केही बोलेका छैनन्।
कोरोनाभाइरस प्रभावित एत्तरी इटालीमा लिगको ६ खेल हुन बाँकी छ। जसमा आइतबार युभेन्टस र लिगको तेस्रो नम्बरमा रहेका इन्टर मिलानको खेल पनि सामेल छ।
इन्टर मिलानले पनि आफ्नो खेलमा दर्शकको इन्ट्री बन्द गरिने एक विज्ञप्तिमार्फत बताएको छ।
क्लबले सरकारको आदेशको पालना गर्दै यूइएफए, लोम्बार्डीको क्षेत्रीय स्वास्थ्य अधिकारी र मिलान सिटी काउन्सिलसँगको सहयोगमा फ्यानलाई प्रवेश निषेध गरको बताएको हो।
हालसम्म इटालीमा ३२५ जनामा संक्रमण भेटिइसकेको छ भने ११ जनाको मृत्युसमेत भइसकेको छ।