आइतबार, असार ८, २०८२

कोरोनाको असर मास्क र औषधि बजारमा, कति छ स्टक ?

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यका अनुसार चीनमा पनि औषधि उत्पादन हुन छोडेको छ । साथै आयातमा समेत अवरोध हुँदा औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य २० देखि ८० प्रतिशतसम्म बढेको छ ।
 |  बुधबार, फागुन १४, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, फागुन १४, २०७६

काठमाडौं– दुई महिना अघिदेखि चीनबाट संक्रमण फैलिन सुरु गरेको कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्व नै त्रसित बनेको छ । ३५ देशमा फैलिएको कोरोनाका कारण २७ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने डेढ करोड मानिस क्वारेन्टाइन (निगरानी) मा छन् ।

कोरोनाको असरबाट नेपाल पनि अछुतो छैन । कोरोनाको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपाली दुई हप्ते क्वारेन्टाइनमा छन्। हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशीको निगरानीका लागि त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क राखिएको छ।

नेपाल प्रवेश गर्ने स्थल नाकाहरु बन्द भएका कारण आयात प्रभावित भएको छ । दैनिक उपभोग्य वस्तुदेखि लिएर औषधिमा पनि समस्या देखिएको छ । औषधिको आपूर्ति र उत्पादनमा असर परेको सम्बद्ध व्यवसायीले बताएका छन् ।

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यका अनुसार चीनमा पनि औषधि उत्पादन हुन छोडेको छ । साथै आयातमा समेत अवरोध हुँदा औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्य २० देखि ८० प्रतिशतसम्म बढेको छ । नेपालमा औषधि उत्पादनका लागि आवश्यक पर्ने अधिकांश कच्चा पदार्थ चीनबाट आयात हुने गरेको छ।

महासचिव आचार्यले भने, ‘चीनले औषधिको अर्डर पनि लिएको छैन, अझै एक महिनासम्म औषधि उत्पादन भएन वा आयात गर्न सकिएन भने औषधि अभावको अवस्था रहन्छ ।’ सरकारले औषधिको मूल्य तोकिदिएका कारण औषधि आयातकर्तालाई महँगो पर्न गए पनि उपभोक्ताले भने अहिलेसम्म बढेको मूल्य तिर्नु नपरेको आचार्यले दाबी गरे ।

नेपालमा प्रयोगमा हुने औषधिमध्ये ५५ प्रतिशत औषधि आयात गर्नुपर्ने अवस्था छ । नेपालमै उत्पादन हुने ४५ प्रतिशत औषधिको लागि पनि कच्चा पदार्थ भने विदेशबाटै आयात गर्नुपर्छ ।

नेपालले वार्षिक करिब १२ अर्ब रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ आयात गर्दै आएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल बताउँछन् । नेपालमा उत्पादन हुने धेरैजसो औषधिका लागि भारत तथा चीनबाट कच्चा पदार्थ आयात हुने गरेको छ ।

चार महिनाको लागि स्टक

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालका अनुसार औषधि कम्पनीहरूमा अझै चार महिनाका लागि पुग्ने औषधि मौज्दात रहेकाले आत्तिहाल्नुपर्ने अवस्था छैन ।

‘हामीले उत्पादक र व्यवसायीहरूलाई बोलाएर बैठक राखिसकेका छौँ । उहाँहरूले उपलब्ध गराएको स्टकको विवरणअनुसार ४ महिनालाई समस्या देखिएको छैन,’ उनले भने । यद्यपि, केही औषधिमा भने आकस्मिक रूपमा समस्या आउन सक्ने उनको भनाइ छ । चीनमा उद्योग नचल्दा भारत र नेपाली औषधि बजारमा सिधा असर पर्ने ढकाल बताउँछन् ।

डेढ महिनाभन्दा लामो समयदेखि चीनमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण उद्योगहरू बन्द हुँदा औषधिको अन्तर्राष्ट्रिय बजार पनि प्रभावित भएको छ । चीनमा उद्योग नचल्नुको असर छिमेकी देश भारतमा पनि देखिएको बताइएको छ । चीनमा उद्योगहरु नचल्दा भारतमा समेत पारासिटामोलको मूल्य ४० प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । 

‘चीन र भारतको प्रभाव नेपाली औषधि बजारमा नपर्ने त कुरै भएन । तत्काल असर देखिसकेको छैन तर कच्चा पदार्थको अभाव र औषधि आयातमा असर पर्दा मूल्य बढ्न सक्छ,’ महानिर्देशक ढकालले भने ।

मास्क अभाव

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिन थालेपछि चीनसहित धेरै मुलुकमा मास्कको माग बढेको छ । चीनमा मास्कको अभाव भएर तेस्रो मुलुकबाट लैजाने क्रम बढ्न थालेको छ । भारतले पनि गत माघमै मास्क निर्यातमा प्रतिबन्ध लगाइसकेको छ ।

नेपालमा पनि मास्कलगायतका सामग्री प्रयोग गर्ने क्रम बढेसँगै नेपाल औषधि व्यवसायी संघले २१ माघमा विज्ञप्ति जारी गर्दै मास्क, सर्जिकल पञ्जा र ह्यान्ड स्यानिटाइजरको अत्यधिक माग बढेको भन्दै बजारमा अभाव हुन नदिन व्यवसायीहरूलाई निर्देशन दिइसकेको छ ।

प्रकाशित: Feb 26, 2020| 10:04 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।