काठमाडौं । नेपाल–भारत व्यापार तथा पारवहन सम्बन्धी दुई पक्षिय वार्ता हुने भएको छ । यस अघि साउनको अन्तिम साता तय भएको वार्ता विशेष कारणले सरेर भदौंमा भित्र हुने गरि तय भएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले जानकारी दिए ।
वार्ताको क्रममा नेपालबाट उठाउने एजेन्डाकाे विषयमा मन्त्रालयले विभिन्न निकायहरुसँग छलफल अगाडी बढाएको छ । यसैक्रममा सोमबार नेपाल र भारत संयुक्त विजनेस फोरमसँग छलफल गरेको हो ।
आगामी बैंठकमा सरकारको तर्फबाट निजी क्षेत्रले अपेक्षा गरेको विषयहरु उठान गर्ने सम्बन्धी छलफल चलाएको हो ।
नेपाल र भारत संयुक्त विजनेस फोरमका अध्यक्ष एवंम नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष भवानी राणाले दुई पक्षिय वार्तामा उठाउनु पर्ने विषयहरुको बारेमा जानकारी गराएकी हुन् ।
पछिल्लो समय भारतबाट आयात बढी भइरहेको र निर्यात घटेको विषयमा दुई पक्षिय वार्ताको क्रममा एजेण्डाकै रुपमा प्रस्तुत गर्ने तयारी नेपालले गरिरहेको छ ।
अध्यक्ष राणाले वार्ताको क्रममा नेपाल भारतवीच विद्यमान वाणिज्य सन्धीको विस्तृत पुनरावलोकन गर्न सुझाव दिएको छ । त्यसका लागि उच्च राजनीतिक स्तरमा भएको सहमति अनुसार विद्यमान वाणिज्य सन्धी,२००९ लाई विस्तृत पुनरावलोकन गरी आवश्यक परिमार्जनको प्र्रक्रियामा रहेकोले लाई अन्तिमरुप दिई टुङ्ग्याउनु पर्ने जनाएको छ ।
भारत मार्फत तेस्रो देशसँग हुने व्यापारमा पारवहन मार्गको रुपमा प्रयोग गर्ने व्यवस्था समेत थप गर्ने गरी वार्ता भई अन्तिम मस्यौदा तयार भइसकेकोले यसलाई दुवै पक्षबाट हस्ताक्षर गरी कार्यान्वयनमा ल्याउन जोड दिन आवश्यक रहेको बताइन ।
तेस्रो मुलुकबाट आउने कार्गोमा इलेक्ट्रोनिक कार्गो ट्राकिङ्ग सिस्टम लागु गर्ने विषयमा समेत छलफल गर्न आवश्यक रहेको उल्लेख गरेकी छिन् ।
भारत सरकारले नेपालको विराटनगरसम्म निर्माणधिन रेल्वे लाईन मध्ये विराटनगर आइसीपीसम्म निर्माण सम्पन्न भई २०१८ मा नै परिक्षण भइसकेको र वाँकी भाग निर्माण सम्पन्न हुन केही समय लाग्ने भएकोले आइसीपीसम्म कार्गो रेल संचालन गरी सामान ढुवानी गर्ने व्यवस्था भएमा त्यस क्षेत्रमा हुने व्यापार लागतमा उल्लेखनीय कमी हुने भएकोले सो कार्य अगाडी बढाउनका लागि वार्ताको क्रममा छलफल गर्नु पर्ने उल्लेख छ ।
योसँगै थप आइसीपी सञ्चालनका लागि दोधारा चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको लागि नेपाल तर्फ ईआईए तथा डिटेल डिजाइनको कार्य अगाडी बढेको हुँदा भारततर्फ निर्माण हुने आइसीपीको निर्माणको कार्य अविलम्ब अगाडी बढाईदिन अनुरोध गर्नुपर्ने,भैरहवामा आइसीपी निर्माणको काम यथासक्य छिटो शुरु गर्न अनुरोध गर्नुपर्ने उनको भनाई छ ।
वार्ताको क्रममा तेस्रो मुलुकबाट भारतमार्फत नेपाल आउने मालसामानको लागि नेपाललाई थप बन्दरगाह उपलब्ध गराईदिन भारतीय पक्षलाई अनुरोध गरिएको जनाउँदै नेपालले भारतको धाम्रा वन्दरगाह (उडिसा) र मुन्द्रा वन्दरगाह (गुजरात) उपलब्ध गराईदिनको लागि भारतीय पक्षलाई अनुरोध गरिसकेकोले यसलाई दुवै पक्षबाट हस्ताक्षर गरी कार्यान्वयनमा ल्याउनका लागि जोड दिन आवश्यक रहेको उल्लेख छ ।
भारतले तेस्रो मुलुकवाट आयात गरेको औधोगिक कच्चा पदार्थ,मेसिनरी औजार र लाईफ सेभिङ्ग औषधी आयात गर्न खुला गर्न नेपालले अनुरोध गरी एलओईको मस्यौदा समेत भारतीय पक्षलाई हस्तारन्तरण गरिसकेकोले यसको कार्यान्वयन गर्न पहल गर्नुपर्ने जनाएको छ ।
नेपालसँग सीमा जोडिएका भारतर्फको करिब १५–२० किलोमिटरको दुरीमा कमजोर सडक र रेल लिङ्कबाट जोडिन नसकेको कारण व्यापारको लागत र समय बढ्न गएको उल्लेख गर्दै नेपालसंग सीमा जोडिएका मुख्य नाकाहरुमा सडक स्तरोन्नति र रेल लिङ्क विस्तार गर्न भारत तर्फबाट पहल हुनुपर्ने र नेपाल र भारतबीच विभिन्न स्थानमा रहेका सीमा भन्सार कार्यालयहरुको स्तरोन्नती ,आधुनिकीकरण र सुविधासम्पन्न ल्याव सहितका क्वारेन्टाईन कार्यालय स्थापना गर्न पहल हुनुपर्ने उल्लेख छ ।
यस्तै भारतले नेपालबाट निकासी हुने जुट र जुटजन्य वस्तुहरुमा एन्टी डम्पीङ्ग ड्यूटी लगाएकोले उक्त ड्युटी हटाउन सरकारको विभिन्न संयन्त्रका बैंठकहरु एवं पत्राचार मार्फत भारत सरकारलाई अनुरोध गरिएको भएपनि ठोस निर्णय नआएकोले वार्ताको क्रममा यी विषयलाई उठान गर्न आवश्यक रहेको सुझाव दिएका छन् ।