गोदावरी । धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८/८९ मा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले ५ अर्ब ७८ करोड १२ लाख ७८ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ३ अर्ब ९४ करोड ९९ लाख ७२ हजार रूपैयाँ मात्रै संकलन गरेको जनाएको छ । सो रकम लक्ष्यभन्दा ३२ प्रतिशतले कम हो ।
कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार कुल राजस्वका शीर्षकमध्ये गत आर्थिक वर्षमा आयकर र स्वास्थ सेवा कर भने लक्ष्यभन्दा बढी संकलन भएको छ । आयकरतर्फ १ अर्ब ३६ करोड ६७ लाख ६० हजार रूपैयाँ उठाउने लक्ष्य लिइएकामा १ अर्ब ४० करोड, ९२ लाख ४ हजार संकलन भएको छ । स्वास्थ्य सेवा करतर्फ ५ करोड ८९ लाख ७० हजार रूपैयाँ उठाउने लक्ष्य लिइएकामा लक्ष्यभन्दा झण्डै ५९ प्रतिशत बढी अर्थात रु नौ करोड ३७ लाख छ हजार संकलन भएको छ ।
घर बहाल करतर्फ ४ करोड ३७ लाख ३४ हजार संकलन गर्ने लक्ष्य लिइएकामा २ करोड ७७ लाख २६ हजार रूपैयाँ संकलन भएको छ । ब्याज करतर्फ ४ करोड ९७ लाख ९१ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिइएकामा २ करोड ३७ लाख २२ हजार रूपैयाँ संकलन भएको सूचना अधिकारी पौडेलले बताए ।
मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ४१ करोड ४९ लाख ४३ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिइएकामा ९६ करोड ४८ लाख ५९ हजार रूपैयाँ संकलन भएको छ । अन्तःशुल्क करतर्फ २ अर्ब ८४ करोड ७० लाख ७९ हजार संकलन गर्ने लक्ष्य लिइएकामा १ अर्ब ४३ करोड ७ लाख ४१ हजार रूपैयाँ संकलन गरिएको छ । जुन लक्ष्यभन्दा ५० प्रतिशत कम हो ।
कार्यालयले शिक्षा सेवा शुल्कको गत आर्थिक वर्षमा लक्ष्य निर्धारण नगरे पनि रु १३ हजार संकलन भएको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा भने लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । साे आर्थिक वर्षमा ४ अर्ब ५० करोड १० लाख ५४ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकामा ५ अर्ब ५३ करोड ६ लाख ३० हजार १२३.५४ प्रतिशत रूपैयाँ राजस्व संकलन भएको थियो ।
सूचना अधिकृत पौडेलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन हुनाको मुख्य कारण कर्मचारी अभावसँगै कोरोनाको असर रहेको जनाए । चालू आर्थिक वर्षमा भने लक्ष्यअनुसारको कर उठाउने तयारीका साथ काम गरिरहेको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षमा कार्यालयले ४ अर्ब ७६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ । रासस