शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • के हुँदैछ खरिपाटीमा ? स्थानीय भन्छन्– सरकारले कुरा बुझाउनै सकेन

के हुँदैछ खरिपाटीमा ? स्थानीय भन्छन्– सरकारले कुरा बुझाउनै सकेन

प्राधिकरण वरपरका केही स्थानीय अहिले घरमा ताल्चा लगाएर हिँडेका छन्। छिमेकीहरुका अनुसार उनीहरुले दुई सातापछि मात्र आफूहरु फर्किने बताएका छन्।
 |  मंगलबार, फागुन ६, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, फागुन ६, २०७६

भक्तपुरको खरिपाटीस्थित बाँसघारी टोलमा छ, नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्र । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको चीनको वुहानबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपालीहरुलाई राखिएका कारण यो ठाउँ अहिले चर्चित बनेको छ।

वुहानबाट ल्याइने नेपालीहरुलाई राख्ने स्थानको विषयमा केही समय बहस नै चल्यो । विभिन्न स्थानहरुको पहिचानपछि सरकारले भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको भवनमा राख्ने निर्णय गरेको हो। खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारले निर्णय गरेपछि स्थानीयले त्यसको विरोध गरे।

भक्तपुरका प्रतिनिधिसभा सांसद प्रेम सुवालले समेत संसद् बैठकमा खरिपाटीमा क्वारेन्टाइन राख्न नहुने तर्क गरे। त्यसको जवाफमा प्रधानमन्त्री केपी ओलीले आफू पनि भक्तपुरमै स्थायी बसोबास गर्ने भन्दै भक्तपुर नै छनोट गरिएको संसद् बैठकमै बताएका थिए।

शनिबार राति नेपाल आइपुगेका १७५ जना नेपालीहरु अहिले खरिपाटीमा रहेको प्राधिकरण तालिम केन्द्रको दुईवटा भवनमा बसिरहेका छन्। उनीहरु सबै चिकित्सकको प्रत्यक्ष निगरानीमा छन्।

प्राधिकरणको गेटबाहिर नेपाल रेडक्रस सोसाइटीको एउटा हेल्प डेस्क राखिएको छ । गेटभित्र छिर्नेबित्तिकै केही प्रहरीहरु तैनाथ देखिन्छन् । त्यहाँबाट जो कोहीलाई भित्र जाने अनुमति छैन ।

प्राधिकरण वरपरका केही स्थानीय अहिले घरमा ताल्चा लगाएर हिँडेका छन्। छिमेकीहरुका अनुसार उनीहरुले दुई सातापछि मात्र आफूहरु फर्किने बताएका छन्। एक स्थानीयले भने, ‘प्रशासनको कमजोरीका कारण यो स्थिति आएको हो । यहाँ क्वारेन्टाइन राख्दा स्थानीयलाई केही हुँदैन भनेर बुझाएको भए कोही पनि घर छाडेर हिँड्नुपर्ने थिएन ।’ ५–७ परिवार हिँडेपछिमात्र परामर्शको काम सुरु भएको उनले बताए ।

स्थानीयमा डर पैदा भएपछि बल्ल रेडक्रसको एउटा हेल्प डेस्क राखिएको छ । स्थानीयलाई कोरोनाबारे चेतना फैलाउन राखिएको डेस्कमा एकाधबाहेक स्थानीय पुग्दैनन् । हेल्प डेस्क प्रभावकारी नभएपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा घरघरमै पुगेर चेतना जगाउने काम भइरहेको छ ।

प्रजिअ पाण्डेले स्थानीयलाई आश्वस्त बनाउने प्रयास भइरहेको र क्वारेन्टाइनमा बस्ने नागरिकलाई पनि कुनै किसिमको कमी भएको महसुस हुन नदिएको बताइन् । ‘बिरामी नै ल्याएको हो कि जस्तो लागेको छ कतिपय स्थानीयलाई । यस्तो भ्रम चिर्न हामी उहाँहरुलाई बुझाउने प्रयास गरिरहेका छौं । नबुझेर केहीले घर छाड्नुभएको हो, उहाँहरु पनि चाँडै फर्किने हाम्रो विश्वास छ,’ उनले भनिन् ।

बुवाको छटपटी

सानेपाका दिनेश श्रेष्ठलाई गएको शनिबार रातभर निद्रा लागेन । कैयौंपटक निदाउने प्रयास गरे पनि निदाउनै सकेनन् । चीनबाट विद्यार्थीहरु ल्याउने कुराले उनलाई उत्साहित बनाएको थियो । विद्यार्थीहरुको सूचीमा उनकी छोरी श्रुति पनि थिइन् ।

चीनमा रहेका नेपाली नागरिकलाई लिन जहाज जाने दिनभर दिनेश एयरपोर्टमै बसे । कतिबेला जहाज उड्ला भन्ने भइरह्यो । दुई बजे जाने भनिएको जहाज ४ बज्नै लाग्दा समेत नगएपछि उनी आत्तिन थाले । कतै मौसममा खराबी भएर जहाज जान नसक्ने त होइन ! उनले त्यस्तो नहोस् भन्दै पुकारिरहे ।

४ बजे जहाज उड्यो । त्यसपछि फेरि अर्को छटपटी । छोरीको स्वास्थ्यमा कुनै समस्या नदेखियोस्, सकुशल छोरीलाई जहाजले ल्याओस् भन्ने प्रार्थना गरिरहे । बेलुका खाना खान पनि मन लागेन, कतिबेला छोरी आइपुग्ली भन्ने लागिरह्यो । रातिको दुई बजेपछि जुन जहाज आए पनि छतमा गएर हेर्थे दिनेश । ५ बजेतिर बल्ल छोरीले आइपुगेँ भन्दै फोन गरिन् । दिनेशले सन्तोषको सास फेरे र नेपाल सरकारलाई धन्यवाद दिए ।

सोमबार दिउँसो दुई हातमा झोला झुण्ड्याउँदै खरिपाटीस्थित विद्युत् प्राधिकरणको गेटभित्र छिर्दैथिए दिनेश । छोरीको लागि ब्ल्यांकेट, थर्मस, केही पुस्तकहरु लगिदिएका थिए । कतै छोरीको अनुहार देखिहाल्छ कि भन्दै केही पर रहेका भवनको छतमा आँखा तन्काइरहेका थिए । त्यहाँ रहेका कसैलाई पनि आफन्तसँग भेट गर्न दिइएको छैन ।

‘छोरी घर जान नपाए पनि घरमै आएको जस्तो भएको छ, तरपनि भेट्न नपाउँदा खल्लो लाग्दोरहेछ । प्रशव अवस्थामा रहेकी महिलालाई पेटको बच्चाको अनुहार हेर्न जति आतुर हुन्छ, मलाई पनि छोरीको अनुहार हेर्न त्यस्तै भएको छ,’ दिनेशले अनुभूति सुनाए।

छोरी, ज्वाइँ र नातिको लागि झोलाभरि सामान बोकेर क्वारेन्टाइनस्थल पुगेकी लिलादेवी भट्टराई पनि निकै खुसी देखिन्थिन्। सन्तान चीनमा रहँदा हारगुहार गर्दै विभिन्न निकाय धाएकी लिलादेवीलाई बल्ल ढुक्क लागेको छ।

भन्छिन्, ‘मेरी छोरीलगायत १७५ जना नेपालीले नयाँ जीवन पाएको जस्तो लागेको छ। चीनमा हुँदा खानेकुरा र पानीको अभाव भएर भोकभोकै बस्नुपरेको, मास्क नपाएको सुनाउँथी छोरीले। अहिले सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा त पाँचतारे होटलमा बसेको जस्तो अनुभव भएको होला,’ भट्टराई भनिन् । उनलाई पनि छोरीलाई कहिले भेटौं भन्ने हुटहुटी छ ।

यस्ता छन् सुविधा क्वारेन्टाइनमा

क्वारेन्टाइनभित्र रहेका विद्यार्थीहरुलाई खानपिन, खेलकुद तथा मनोरञ्जनको राम्रो व्यवस्था छ । विद्यार्थीहरु कोही छतमा बसेर क्यारमबोर्ड खेल्ने, कोही लुँडो, कोही ब्याडमिन्टन खेल्न त कोही पढ्नमा व्यस्त हुन्छन् ।

उनीहरुको दैनिकी सहज होस् भन्ने उद्देश्यले इन्टरनेट, टेलिभिजन, विभिन्न खेलकुदका सामग्रीहरुको व्यवस्था गरिएको छ । क्वारेनटाइनमा बस्ने नेपालीहरुले राम्रो व्यवस्थापन गरेकोमा सरकारको प्रशंसा गरेका छन् । सरकारले विभिन्न क्षेत्रका मानिसलाई क्वारेन्टाइन व्यवस्थापनमा खटाएको छ । स्वास्थ्य क्षेत्रमा नेपाली सेनाका चिकित्सक डा. नविन फुयाँलको नेवृत्वमा टोली खटाइएको छ ।

नेपाली सेनाकी कर्णेल डा. मुन थापाका अनुसार अहिले क्वारेन्टाइनमा बसेका सबै विद्यार्थीहरु स्वस्थ छन् । कुनै समस्या देखिएमा तत्काल अस्पताल लगिनेछ, जसको लागि ५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । १७५ जनाको खकार परीक्षणको लागि टेकु पठाइसकिएको छ । त्यसको रिपोर्ट भोलि (बुधबार) आउनेछ ।

अहिलेसम्म कसैलाई पनि रुघाखोकी, ज्वरोजस्ता समस्या देखिएको छैन । ‘चीनमा स्यानेटरीको सामग्रीदेखि पानी, खानेकुराको समेत राम्रो व्यवस्था नहुँदा नेपाली विद्यार्थीहरु डिप्रेशनमा पुग्ने हुन् कि भन्ने हामीलाई शंका थियो । त्यसैले उहाँहरुमा मानसिक समस्या नआओस् भनेर मनोरञ्जनको प्रबन्ध गरिएको छ। सबैजना स्वस्थ भएको हुनाले मानसिक तनाव नआउला । समस्या आएको खण्डमा साइको सोसल सपोर्टको टिम पनि खटाइएको छ,’ डा. थापाले भनिन्।

प्रकाशित: Feb 18, 2020| 14:37 मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।