काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब दार्चुलामा दुईवटा मात्र तुइन बाँकी रहेको बताएका छन्। उनले सञ्चारमाध्यममा तुइनको फोटो देखाएर सरकारको आलोचना गरिएकोमा गुनासो गरे।
२०७२ साल असोजमा पहिलोपल्ट प्रधानमन्त्री हुँदा ओलीले पहिलो निर्णय नै एक वर्षभित्र तुइन विस्थापन गर्ने बताएका थिए।
देशका विभिन्न ठाउँमा अझै नागरिकले तुइनबाट जोखिमपूर्ण रूपमा नदी वारपार गर्ने गरिएको भन्दै प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ।
राजधानीमा सोमबार बिजुलीको तार भूमिगत रुपमा राख्ने कार्य थालनी गर्दै प्रधानमन्त्रीले भने, ‘दार्चुलामा दुई वटा तुइन बाँकी छ, त्यही फोटो खिचेर देखाइरहेको छ।’
उनले दिनमा ६ किलोमिटर बाटो पिच भइरहेको जानकारी दिए। प्रधानमन्त्री ओलीले बिजुलीको तार भूमिगत भएपछि सहरको सौन्दर्य बढ्ने बताए।
उनले भने, ‘चराले गुँड बनाउने गरी गुजुल्टिएको तार हट्छ। अब सहर कुरुप हुँदैन, चिटिक्कको सहर बन्छ।’
तार भूमिगत गर्ने काम महाराजगन्जबाट सुरु गरिएको हो ।