पर्सा । वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो ।
आव २०७७/७८ मा सो नाका प्रयोग गरी नेपालका लागि ८६ अर्ब ३ करोड ३६ लाख रूपैयाँकाे १५ लाख ९१ हजार १३३ किलोलिटर डिजल पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो । गत आवमा १ खर्ब ७७ अर्ब ८८ करोड ७७ लाख मूल्यको ३२ लाख ९३ हजार ५३८ किलोलिटर इन्धन आयात भएको छ ।
सो समीक्षा अवधिको तुलनामा ९१ अर्ब ८५ करोड ४१ लाख रूपैयाँ बढी मूल्याको १७ लाख २ हजार ४ सय ५ किलो बढी इन्धन आयात भएको हो ।
गत आवमा डिजलको आयात ११ प्रतिशत, पेट्रोलको आयात २५ प्रतिशत, हवाई इन्धनको आयात २ हजार ४८० प्रतिशतले बढेको छ, भने मट्टितेलको आयात ३६ प्रतिशतले कम भएको छ । इन्धनसँगै वीरगञ्जबाट खाना पकाउने ग्यासको आयातसमेत बढेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।
उनले आर्थिक वर्ष २०७७/७८मा वीरगञ्ज नाकाबाट १९ अर्ब ८१ करोड २८ लाख रूपैयाँको २ लाख २९ हजार २१६ मेट्रिक टन ग्यास आयात भएको र गत आवमा १५ अर्ब ३८ करोड ४६ लाख रूपैयाँ बढी अर्थात् ३५ अर्ब १९ करोड ७४ लाख मूल्यको २ लाख ८४ हजार ८२४ मेट्रिक टन ग्यास आयात भएको बताए ।
सो अवधिको तुलनामा ७८ प्रतिशत बढी मूल्यको १० प्रतिशत बढी ग्यास आयात भएको हो । इन्धन तथा खाना पकाउने ग्यासको आयातसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ ।
वीरगन्ज नाकाबाट आयात हुने इन्धनबाट समीक्षा अवधिमा ४६ अर्ब १४ करोड ४० लाख रूपैयाँ राजस्व संकलन गरेको तुलनामा गत आवमा ४४ अर्ब २ करोड २८ लाख बढी अर्थात् ९० अर्ब १६ करोड ६९ लाख रूपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए । उनले गत आवमा इन्धन आयातबाट संकलित राजस्वमा ९५.४० प्रतिशतले वृिद्ध भएको बताए ।
वीरगञ्ज नाकाबाट ७० प्रतिशतभन्दा बढी इन्धन र ८५ प्रतिशतभन्दा बढी खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ ।