प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई दोहोर्याएको बारे सरकारको र सत्तारुढ गठबन्धनको आलोलना गरेका छन् । उनले अर्थमन्त्रीका लागि गठबन्धनसँग अर्को मान्छे पनि थिएन ? भनेर प्रश्न गरेका छन् ।
तुल्सीलाल अमात्य स्मृति दिवसको कार्यक्रममा मंगलबार ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको विषयमा सत्तारुढ गठबन्धनले छानबिन हुन नदिएको आरोप पनि लगाए ।
उक्त घटनाबारे संसदीय छानबिन समितिमा छानबिन नै नभएको ओलीको भनाइ थियो । 'छानबिन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानबिन गर्न दिएकै छैन । छानबिन भएकै छैन । कल डिटेल्स हटाएको छ । अनि सीसीटीभीको रेकर्ड मेटाइएको छ । रिभाइभ गर्दा देखिँदैन, बुझिँदैन अनि सफाइ पायो कि सफाइ पायो । कहाँबाट सफाइ पायो ?,' उनले भने, 'कल डिटेलसम्म लिन नदिएर, लिन नमानेर गठडबन्धनवालाहरूले, अनि फेरि लाजसरम नमानी, नेपाली जनतालाई कति साह्रो हेपेको ? नेपाली जनताको विवेक र नैतिक धरातलमाथि कति हमला ? यति निर्लज्ज तरिका हुन्छ फेरि उहि मान्छे ? यो गठबन्धनसँग अर्को मान्छे पनि रहेनछ ?'
अर्थमन्त्रीमा शर्मालाई दोहोर्याएर सत्तारुढ गठबन्धनले जे गरे पनि हुन्छ भन्ने दम्भ देखाएको ओलीको भनाइ थियो । उनले बहुमत छ भन्दैमा जे गरेपनि हुन्छ भन्ने नठान्न चेतावनी दिए । ओलीले लोकलाज मान्न कांग्रेसलाई आग्रह गरेका थिए ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई कर र भन्सारका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले असार २२ गते मन्त्रीबाट राजीनामा गरेका थिए । सोही दिन प्रतिनिधिसभाले छानबिन समिति गठन गरेको थियो । समितिले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको भन्दै प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदनमा प्रमुख प्रतिपक्षी एमालेबाट समिति सदस्य रहेकाहरूले फरक मत राखेका थिए । समितिले प्रतिवेदन बुझाएपछि साउन १५ गते शर्मा फेरि अर्थमन्त्री बनेका थिए ।