काठमाडाैं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७८/७९ मा चार अर्बभन्दा बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले लक्ष्यको ९८ प्रतिशत अर्थात् ४ अर्ब १६ करोड ९५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिए ।
आव २०७८/७९ मा कार्यालयले ४ अर्ब २४ करोड ७४ लाख ६९ हजार राजस्व रुपैयाँ संकलनको लक्ष्य पाएको थियो ।
कार्यालयअन्तर्गत इलाम र फिदिममा समेत करदता सेवा कार्यालय सञ्चालन हुँदै आएको छ । भद्रपुर कार्यालयबाट ३ अर्ब ७ करोड १६ लाख ३५ हजार, इलाम सेवा कार्यालयमार्फत ५६ करोड ८९ लाख ६८ हजार र फिदिम सेवा कार्यालयमार्फत ५२ करोड ८९ लाख ७० हजार गरी कुल ४ अर्ब १६ करोड ९५ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
कार्यालयले आयकरबापत २ अर्ब ८७ करोड ३१ लाख ५८ हजार, बहाल करबापत ४ करोड २० लाख ४४ हजार, ब्याज करबापत ६ करोड ५८ लाख ८१ हजार, मूल्य अभिवृद्धि करबापत १ अर्ब ७० करोड ७ लाख १० हजार, अन्तःशुल्कबापत ४८ करोड ७८ लाख ८४ हजार र शिक्षा सेवा शुल्कबापत ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभिन्न सात शीर्षकमा कर संकलन गर्दै आएको कार्यालयले स्वास्थ्य सेवाबापत १० लाख ९० हजार ६९० राजस्व रुपैयाँ संकलनको लक्ष्य पाए पनि कर संकलन शून्य रहेको छ । अघिल्लो वर्ष कोरोना भाइरसको महामारीका कारण राजस्व असुलीमा कमी आए पनि यो वर्ष बढेको प्रमुख कर अधिकृत रिजालले बताए ।
'सबै उपाय अपनाएर राजस्व असुलीलाई करिब शत्प्रतिशतकै हाराहारीमा ल्याउने प्रयास गरेका छौं,' उनले भने, 'समग्रमा राजस्व असुली सन्तोषजनक नै छ ।'
करदाता सचेतना अभिवृद्धि गर्न सरोकारवालाहरूसँग अन्तरक्रिया र १२ वटा करदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिएको उनको भनाइ छ । ताप्लेजुङ, पाँचथर, इलाम जिल्ला र झापाको मेचीनगर नगरपालिका, कनकाई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिबारी गाउँपालिका र केचनाकवल गाउँपालिका कार्यालयको कार्यक्षेत्र रहेको छ ।