काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा कांग्रेस महामन्त्री गगन थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न सक्ने जोखिम बढेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि कालोसूचीमा पर्नबाट जोगिएको भए पनि यसपटक कालोसूचीमा पर्न सक्ने बताएका हुन्
‘सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्न नदिन सरकारले गरिरहेका काम संसद्लाई जानकारी गराउनुपर्छ,’ उनले भने ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी ४० वटा सूचीमा नेपालको अवस्थाबारे सरकारले तत्काल संसद्मा जानकारी गराउनपर्ने थापाको माग छ । उनका अनुसार नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन नबनिसकेको, बनेको कानुन पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको, व्यापकर कर छली, बढ्दो भ्रष्टाचार र अपराधीकरणका कारण समष्टिगत मूल्यांकन अति जोखिमपूर्ण अवस्थामा भएको विज्ञहरूले बताइरहेका पनि थापाले बताए ।
नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा परेमा विप्रेषण र आयातमा निर्भर नेपालको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने तथा एलसी खोल्न नपाइने थापाको भनाइ थियो ।
‘नेपाल फाइनान्सियल एक्सन टास्क फोर्सअन्तर्गत एसिया प्यासिफिक ग्रुपको सदस्य हो । यसले आगामी अक्टोबर र नोभेम्बरमा मूल्यांकन गर्दैछ । यस्तो मूल्यांकन हाम्रो कानुनी व्यवस्था र यसको कार्यान्वयन र प्रभावकारिताको आधारमा गरिन्छ,’ थापाले भने, ‘मनी लन्रिङसम्बन्धी पर्याप्त कानुन नबनिसकेको, बनेको कानुन पनि कार्यान्वयन नभएको, व्यापक कर छली, बढ्दो भष्टाचार र आपराधीकरणले गर्दा हाम्रो देशको यस्तो मूल्यांकन अति जोखिममा छ ।’