काठमाडौं । मदिरा आयातको वैधानिक बाटो बन्द गरेर सरकारले तस्करलाई प्रोत्साहन गरेको व्यवसायीले आरोप लगाएका छन् । विदेशी मुद्रा जोगाउने नाममा मदिरा आयात रोकेर चोरी पैठारीलाई प्रश्रय दिएको उनीहरुको आरोप छ ।
नेपालमा वार्षिक १ करोड २० लाख डलर बराबरको विदेशी मदिरा भित्रिएको भन्सार विभागको तथ्यांकबाट देखिएको छ । तर, सरकारले मदिराको कच्चा पदार्थ र तयारी मदिरालाई एउटै डालोमा राखेर तथ्यांक प्रकाशित गर्दा भ्रम सिर्जना भएको नेपाल मदिरा आयातकर्ता संघका महासचिव गौरव शारडाले बताए ।
नेपालमा जम्माजम्मी १ करोड २० लाख डलर बराबरको मदिरा भित्रिन्छ । तर, सरकारले ५ अर्ब ५० करोड रुपैयाँको मदिरा भित्रिएको भनेर जनतामा भ्रम छरिरहेको बताए । नेपाली रुपैयाँमा जम्मा १ अर्ब ५० करोडको मदिरा आउने गरेको छ । बाँकी मदिरा बनाउन चाहिने कच्चा पदार्थ आयात भएको उनको तर्क छ ।
तर, सरकारले ५ अर्ब ५० करोडको आँकडा देखाएर तयारी मदिरा रोक्दा चोरी पैठारी बढेको उनीहरुले बताएका छन् । ‘एक बोतल मदिरा नेपाल भित्रिँदा त्यसको मूल्य अभिवृद्धिको कुनै हिसाव किताव गरिएको छैन । पर्यटक सेवन गरेर तिरेको डलरको लेखाजोखा नै भएको छैन,’ उनले भने, ‘विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण योगदान गर्ने मदिरालाई रोकेर सरकारले कसरी विदेशी मुद्राको सञ्चिति बढाउन सक्छ ?’
सरकारले १५० करोड रुपैयाँ खर्चिंदा ३३० करोड रुपैयाँ राजस्व संकलन गरिरहेको थियो । १५० करोड रुपैयाँ भनेको आयातको शून्य दशमलव १०० प्रतिशत मात्रै हुन आउँछ । ‘शून्य दशमलव १०० प्रतिशतलाई निरुत्साहित गरेर विदेशी मुद्राको सञ्चिति बढ्छ ? संघले सरकारलाई प्रश्न गरेको छ ।
विदेशी मदिरा आयात गर्दा शून्य दशमलव १०० प्रतिशत विदेशी मुद्रा बाहिर जान्छ । तर, सरकारले शून्य दशमलव ७३ प्रतिशत कुल राजस्वमा योगदान गर्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।