काठमाडौं । अर्थ मन्त्रालयको गत जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ भएको छ ।
प्रहरीले दुई प्याकेजमा गरी ५१ वटा क्लिपहरु रिकभर गरी समितिलाई बुझाएको हो ।
केही सेकेन्डका ती क्लिपहरू धुर्मैला छन् । मान्छेहरू आउजाउ गरेकोजस्तो देखिए पनि स्पष्ट देखिँदैन ।
जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करका दर हेरफेर गरेको आरोपपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न असार २२ मा संसदीय समिति गठन भएको थियो । सोही दिन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
उपभोक्ता हित संरक्षण मञ्चले सो दिनको सीसीटीभी फुटेज माग्दा अर्थ मन्त्रालयले डिलिट भइसकेको जवाफ दिएको थियो । त्यसपछि शर्मा थप आलोचित बनेका थिए ।
यस्तै संसदीय समितिकाे बयानमा पनि शर्माले सीसीटीभी फुटेजकाे स्टाेरेज कहिलेसम्म हुन्छ भन्नेबारे मन्त्री जानकार नहुने बताएका थिए । साथै शर्माकाे जिकिर थियाे, बजेट निर्माणमा अनधिकृत व्यक्तिकाे कुनै संलग्नता छैन ।
सो प्रकरणको छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई नेपाल प्रहरीको विज्ञ टोलीले जेठ १४ गतेको ५१ वटा भिडियो फुटेज रिकभर गरेर बुझाएको छ ।
ती क्लिपहरु आजको विशेष समिति बैठकमा सदस्यहरुले हेरेका छन् । केही अस्पष्ट रहेको भन्दै त्यसबारे फरेक्सिक विज्ञहरुसँग परामर्श गर्ने भन्दै बैठक स्थगित गरिएको छ ।
समितिको अर्को बैठक आजै अपराह्न ४ बजे फेरि बस्ने छ ।
समितिका सदस्यहरुबीच भिडियो क्लिपबारे आ–आफ्ना राजनीतिक दलका शीर्ष तहका नेताहरुसँग पनि परामर्श गर्ने अनौपचारिक सहमति भएको छ । नेताहरुसँग परामर्श गरेर आज बैठक बस्ने र भोलि रिपोर्ट लेख्ने विशेष समितिको तयारी छ ।