काठमाडौं । औपचारिक माध्यमबाट निकासी भएको घिउ, तेल पुन चोरीबाटोबाट नेपाल भित्रिने गरेको पाइएको छ । सरकारी अधिकारीको मिलेमतोमा वीरगन्ज, भैरहवा, विराटनगरलगायत नाकाबाट घिउ तेल औपचारिक रुपमा निकासी हुने र त्यही चोरी भएर नेपाल भित्रिने गरेको पाइएको हो ।
यस्तो कार्य भन्सारका अधिकारी, सशस्त्र प्रहरीको सहयोगमै भइरहेको व्यापारीहरु बताउँछन् । नेपालबाट निकासी गर्दा कुनै पनि कर लागेन । नेपालबाट निकासी भएको सामान भारत पुगेर चोरबाटोबाट नेपाल आइरहेको सम्बद्ध व्यापारीहरु बताउँछन् ।
नेपालबाट निकासी भएको सामान चोर बाटोबाट नेपाल भित्र्याएपछि आयकर, मूल्य अभिवृद्धि करलगायत राज्यलाई तिर्नुपर्ने सम्पूर्ण करहरु छल्न पाइने भएपछि व्यापारीले कमाउने नयाँ धन्दा फेला परेका हुन् ।
‘अहिले नेपालबाट घिउ, तेल निकासी गर्ने र सोही माल भारत पुर्याएर भन्सार छलेर नेपाल भित्र्याउने खेल विगत केही महिनादेखि चलिरहेको छ,’ एक व्यापारीले भने, ‘निकासीमा कुनै कर लाग्दैन । उताबाट भन्सार छलेर सोही सामान नेपाल ल्याउनेबित्तिकै सम्पूर्ण कर छल्न पाइयो । त्यही भएर अहिले भैरहवा, वीरगन्ज, विराटनगरलगायतका क्षेत्रमा यो कार्यले व्यापकता लिएको छ ।’
सरकारी अधिकारीसँग मिलेर व्यापारीले यस्तो कार्य गरिरहेका छन् । स्रोतका अनुसार अहिले वीरगन्जबाट मात्रै दैनिक रूपमा २० गाडी माल नेपालबाटै भारत जाने र भन्सार छलेर नेपाल भित्रिने गरेका छन् ।
त्यसरी भित्रिएका सामान बजार मूल्यअनुसार बिक्री हुन्छन् । जसबाट राज्यले न मूल्य अभिवृद्धि कर प्राप्त गर्छ नत आयकर नै । स्रोतका अनुसार नेपालबाट औपचारिक रुपमा भारत पुर्याउने र उताबाट उक्त सामान नेपाल भित्र्याइदिएबापत तस्करलाई प्रतिकिलो ४ रुपैयाँ उपलब्ध गराउने गरेका छन् ।
अहिले नाकामा हरेक सामान चोर बाटोबाट छिराउनु परे प्रतिकिलो ४ रुपैयाँ मूल्य तोकिएको छ । त्यो रकम सरकारी अधिकारी, प्रहरी प्रशासन, राजस्वका कर्मचारीलगायत सबै समक्ष भाग पुग्ने गरेको उनीहरु बताउँछन् । अहिले ट्रकका ट्रक माल भारत गइरहेको छ । त्यही माल गैरकानुनी बाटोबाट नेपाल भित्रिएको छ ।