मनाङ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जंगली जडीबुटी संकलनबाट ४० हजार १६ हजार ६४ रूपैयाँ राजस्व संकलन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी संकलन र काठ बिक्रीबाट पनि उक्त राजस्व संकलन भएको हो ।
सो आवमा जिम्बु संकलनबाट ३९ हजार ९८ रूपैयाँ, वन लसुनबाट ३४ हजार ५ सय १२ रूपैयाँ, गुची च्याउबाट १७ हजार २ सय ३३ रूपैयाँ, निगालोबाट २ सय २१ रूपैयाँ, यार्सागुम्बाबाट ३६ लाख २९ हजार ५ सय १ र टिम्बरबाट २ लाख ९५ हजार ४ सय ९९ रूपैयाँ राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।
उनका अनुसार जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० फिस, यार्सागुम्बा १०७.०५२ किलोग्राम, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । गत वर्ष कोभिड– १९ का कारण जंगली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएको थियो ।
गतवर्षको तुलनामा यस वर्ष भने सहज भएकाले राजस्वमा पनि वृद्धि भएको गौतमले बताए। कुनै पनि रोगको सङ्क्रमण नहुँदा सहज रुपमा मनाङ बाहेक अर्को जिल्लाबाट जडीबुटी संकलनमा आउनेको सङ्ख्या बढेपछि राजस्वमा वृद्धि भएको हो ।
गत आर्थिक वर्ष मनाङमा ४०.५ किलोग्राम जडीबुटी संकलनबाट १३ लाख ९७ हजार २५० राजस्व संकलन भएको थियो । संकलित राजस्व संघीय सरकारअन्तर्गत वित्तीय आयोगमा पठाइनेछ । वित्तीय आयोगले ५० प्रतिशत संघ सरकारमा राखी प्रदेश सरकार र स्थानीय सरकारमा २५/२५ प्रतिशत राजस्व पठाइने प्रावधान रहेको गौतमले बताए।
जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले बताए । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले जानकारी दिए । मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्कर लगायतका स्थानबाट जङ्गली जडीबुटी संकलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् ।
नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडारलगायतका क्षेत्रबाट जङ्गली जडीबुटी संकलन गरिन्छन् । ठेकेदारले जंगली जडीबुटी संकलनका लागि ठेक्का लिने र बाहिरबाट संकलनकर्ता ल्याएर टिपिने गरिन्छ ।
ठेकेदारले कममा रु ३० हजारदेखि ४० हजारसम्म पूर्जी काटेर ठेक्का लिने गरेका गर्दछन् । करिब २ महिना खर्कमा बसेर जंगली जडीबुटी संकलन गर्ने गर्छन् ।