काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न मालवस्तु आयात गरेको पाइएको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्ब रूपैयाँभन्दा बढीको सामान आयात भएको हो ।
तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाख रूपैयाँ भन्दा बढीको सामान आयात गरेको थियो ।
१२ खर्ब रूपैयाँभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख रूपैयाँ बराबरको सामान निर्यात भएको थियो। नेपालले भारतसँग मात्रै दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाख रूपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो ।
भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । एक वर्षको अवधिमा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रूपैयाँ बराबरको आयात भएको र ८० करोड ८७ लाख ५४ हजार रूपैयाँ बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख रूपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।
आयातसँगै निर्यात पनि वृद्धि भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो ।
आव २०७८/७९ मा नेपालले दुई खर्ब ३० करोड ९६ लाख रूपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्ष नेपालले रु एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो। विभागकाअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ ।
बढ्यो व्यापार घाटा
आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटामा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको होे ।
विभागकाअनुसार गत आर्थिक वर्ष मुलुकको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रूपैयाँ पुगेको थियो। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रूपैयाँ बराबर थियो ।
एक वर्षको अवधिमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । यो अघिल्लो आर्थिक वर्षकोे तुुलनामा २६ दशमलव १५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष नेपालले रु १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो।