काठमाडौं । धार्मिक आस्थामा साउनलाई हरियो बनाउने प्रचलनले अर्थतन्त्रको गतिविधीलाई पनि बढाउने गरेको छ तर, आयात गरिएका बस्तुको उपभोगले उपभोक्तालाई देखासिकीको बाटोमा पनि लगेको छ ।
साउनमा चुरा, पोते, मेहेन्दी र मेकअपको सामान अरु महिना भन्दा बढि उपभोग हुने ट्रेण्ड नेपाली बजार देखाइरहेको छ । अरु महिना आयात भएका सामानको स्टक क्लिरेन्स पनि व्यवसायीले यहि महिनामा गरिरहेका छन् ।
गत आर्थिक वर्षको ११ महिनामा ४४ करोड ५८ लाखको चुरा नेपालमा आयात भयो । भारतबाट मात्रै ११ महिनाको अवधिमा ४३ करोड ६१ लाख ४३ हजार रुपैयाँको चुरा आयात आएको हो भने चीनबाट ३४ लाख ८० हजार रुपैयाँको चुरा आयात भएको हो ।
त्यस्तै सोही अवधिमा नेपालले १७ करोड १८ लाख ७३ हजार रुपैयाँ बराबरको पोते आयात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा नेपालमा २ अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते, मेहन्दी र टिकौलीलगायतका शृङ्गारका सामग्री आयात गरिएको थियो । यस्तो ट्रेण्ड बर्षेनी बढ्दै गएको छ ।
११ महिनाको अवधिमा २ अर्ब ८९ करोड ९३ लाख ३४ हजार रुपैयाँ को श्रृंगार सामान जस्तै मेहेन्दी, चुरा पोते, क्रिम भित्रिएको भन्सारको तथ्याँकमा छ ।
नेपालले आयात मात्र होइन सोही प्रकारका बस्तु निर्यात पनि गर्ने गरेको छ ।
११ महिनाको अवधिमा नेपालबाट विदेशतर्फ १९ करोड ३४ लाख रुपैयाँको चुरा र ३५ लाख २१ हजारको पोते निर्यात भएको भन्सार विभागको तथ्याँकमा छ ।