बागलुङमा गत आर्थिक वर्षमा ७५.२५ प्रतिशत विकास बजेट खर्च भएको छ । बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा संघीय तथा प्रदेश कार्यालयबाट प्राप्त ३ अर्ब ६४ करोड १५ लाख १९ हजार ५ सय रूपैयाँ बजेटमध्ये ७५.२५ प्रतिशत खर्च भएको छ भने ९० करोड १३ लाख ५४ हजार ७ सय १७ रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रणको कार्यालयका प्रमुख कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिए।
कार्यालयले स्थानीय तहमा सोझै आएको बजेटबाहेक संघीय सरकारको, प्रदेश सरकारको र स्थानीय तहमा आएको ससर्त र समपूरक बजेटको अनुगमन र लेखापरीक्षण गर्दै आएको छ ।
गत आर्थिक वर्षमा संघीय सरकारबाट बागलुङमा पुँजीगततर्फ १ अर्ब ५४ करोड २६ लाख ९२ हजार ५ सय रूपैयाँ बजेट प्राप्त भएकामा जम्मा ५८.२५ प्रतिशत मात्रै अर्थात् ८९ करोड ८५ लाख ७४ हजार १ सय ६४ मात्रै खर्च भएको छ भने ६४ करोड ४१ लाख १८ हजार ३ सय ३६ बजेट रूपैयाँ फ्रिज भएको छ ।
यस्तै गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको पूँजीगततर्फ २अर्ब ९ करोड ८८ लाख २७ हजार रूपैयाँ बजेटमध्ये जम्मा ८७.७४ प्रतिशत मात्रै अर्थात् १ अर्ब ८४ करोड १५ लाख ९० हजार ६ सय १९ बजेट खर्च भएको छ भने २५ करोड ७२ लाख ३६ हजार ३८१ रकम फ्रिज भएको छ ।
संघीय सरकारका ५० वटा कार्यालय, १० स्थानीय तह र प्रदेशका १८ कार्यालयअन्तर्गत चालु र पुँजीगत गरी बागलुङमा ११ अर्ब ८२ करोड ७१ लाख ३३ हजार ८ सय ८८ बजेटमध्ये ८८.५४ प्रतिशत अर्थात् १० अर्ब ४७ करोड १६ लाख ६४ हजार ३ सय ७२ रूपैयाँ खर्च भएको छ । त्यस्तै १ अर्ब ३५ करोड ५४ लाख ६९ हजार ५ सय १६ रूपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
“असारमा मात्रै पूँजीगततर्फको संघीय र प्रदेश बजेटमा ३४.२८ प्रतिशत बजेट खर्च भएको छ, तर कतिपय बजेट असारको अन्तिममा रकमान्तर गरेर आउने, अख्तियारी समयमै नआउने जस्ता कारणले काम पहिले भए पनि भुक्तानी असारमा भएकाले धेरै रकम असारमा खर्च भएको देखिन्छ,” प्रमुख कोष नियन्त्रक बस्यालले भने, “असारे विकासको प्रवृत्ति दोहोरिएको छ, संघीय सरकारको गत आर्थिक वर्षमा १९.५० प्रतिशतले घटेको छ तर जम्मा बजेट खर्च एक प्रतिशतले मात्रै घटेको पाइएको हो ।”
जिल्लामा कतिपय चालू खर्च मात्रै गर्ने कार्यालय भएको र कतिपय विकासे बजेट अत्यधिक खर्च गर्ने कार्यालय भएकाले खर्चका आधारमा कार्यालयको प्रगतिलाई आधार मान्न नहुने कोष तथा लेखा नियन्त्रक तथा सूचना अधिकारी जब्बरबहादुर भण्डारीले जानकारी दिए।