म्याग्दी । म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गर्ने ९ हजार ४ सय ५० सवारीसाधनका चालकलाई कारबाही गरेर ६३ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व संकलन गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक इन्द्रबहादुर नेपालीका अनुसार १ हजार ९ सय ५३ मोटरसाइकल चालकलाई कारबाही गर्दा १४ लाख ४३ हजार रुपैयाँ, १ हजार ३ सय ४४ ट्र्याक्टर चालकबाट ८ लाख ९९ हजार रुपैयाँ, ४ हजार ४ सय ३६ जिप÷कार चालकबाट २९ लाख ६२ हजार रुपैयाँ, ५ सय ३६ बस चालकबाट रु तीन लाख २५ हजार र एक हजार १८१ ट्रक चालकबाट ७ लाख ६२ हजार रुपैयाँ जरिवाना असुली भएको छ ।
सबैभन्दा बढी वैशाखमा १ हजार २ सय ५० सवारीसाधनका चालकलाई कारबाही गर्दा ९ लाख १५ हजार रुपैयाँ जरिवाना असुली भएको नेपालीले जानकारी दिए। आव २०७७/७८ मा ४ हजार ८ सय ५० सवारीसाधनका चालकलाई कारबाही गरेर ३० लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
आव २०७६/७७ मा ३ हजार ६ सय सवारीसाधनका चालकलाई कारबाही गरेर २२ लाख १९ हजार रुपैयाँ, २०७५/७६ मा ६ हजार २ सय सवारीसाधनका चालकबाट ४१ लाख ९३ हजार रुपैयाँ तथा आव २०७४/७५ मा ८ हजार ४ सय सवारीसाधनका चालकबाट ५७ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरिएको नेपालीले बताए।
गत वर्ष म्याग्दीमा भएका १८ दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । नौ जना गम्भीर र ९ सामान्य घाइते भएका थिए । प्रहरी नायब निरीक्षक नेपालीले जाँचका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउन चालक, यात्रु र नागरिक लक्षित कार्यक्रम गर्दै आएको बताए।