दमौली । तनहुँ आन्तरिक राजस्व कार्यालयले लक्षको १०१ दशमलव ६५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयले आर्थिक वर्ष २७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो ।
उक्त आर्थिक वर्षमा लक्षभन्दा १५ करोड ५ लाख ७६ हजार बढी राजस्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत डा. नारायण ढकालले जानकारी दिए । कार्यालयले यो अवधिमा ९ अर्ब २४ करोड ९२ लाख ४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
यो वर्ष ९ अर्ब ९ करोड ८६ लाख २८ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष थियो । गत आर्थिक वर्ष २७७/७८ मा कार्यालयले ८ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व संकललन गरेको थियो ।
उक्त आर्थिक वर्षमा ८ अर्ब ५६ करोड ६८ लाख ३७ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष थियो । गत वर्ष लक्षभन्दा केही कम राजस्व संकलन भए पनि यो वर्ष लक्षभन्दा बढी राजस्व संकलन भएको ढकालले बताए।
कार्यालयले यस अवधिमा आयकरतर्फ ६५ करोड ४७ लाख १५ हजार रूपैयाँ, घरबहाल करतर्फ १ करोड ८६ लाख ८१ हजार, ब्याजतर्फ ४ करोड ६७ लाख ८७ हजार रूपैयाँ, मूल्यअभिवृद्धितर्फ ४५ करोड ७५ लाख ५९ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।
अन्तःशुल्कतर्फ ६ अर्ब १७ करोड ५ लाख २१ हजार रूपैयाँ, स्वास्थ्यतर्फ १ अर्ब ९० करोड ९ लाख ३७ हजार र शिक्षातर्फ ५ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।
आयकरतर्फ ७१ करोड ६१ लाख ४१ हजार रूपैयाँ, घरबहाल करतर्फ ५६ करोड ६८ लाख ४ हजार रूपैयाँ, ब्याजतर्फ १ अर्ब ८ करोड १३ लाख ९ हजार रूपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ६१ करोड ६१ लाख १२ हजार रूपैयाँ, अन्तःशुल्कतर्फ ६ अर्ब ४४ करोड २ लाख ११ हजार रूपैयाँ, स्वास्थ्यतर्फ १ अर्ब १५ करोड ७९ लाख १७ हजार र शिक्षातर्फ ३४ लाख २५ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो ।
आयकरतर्फ लक्ष्यको ९१ दशमल ४२, घरबहाल करतर्फ ३२ दशमलव ९६, व्याजतर्फ ४३ दशमलव २७, मूल्यअभिवृद्धि करतर्फ ७४ दशमलव २७, अन्तःशुल्कतर्फ ९५ दशमलव ८१, स्वास्थ्यतर्फ १६४ दशमलव १७ र शिक्षातर्फ शून्य दशमलव १४ प्रतिशत राजस्व संकलन भएको छ ।
कार्यालयका अनुसार असार महिनामा मात्रै रु ८५ करोड ७९ लाख ७४ हजार राजस्व संकलन गरेको जनाइएको छ ।असार महिनामा मात्रै लक्ष्यको १३५ दशमलव २४ प्रतिशत बढी राजश्व संकलन भएको थियो । असार महिनामा रु ६३ करोड ४४ लाख २५ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो ।
कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असूली गणना, लेखापरीक्षण र अनुसन्धानको काम गर्दै आएको छ । विगत दुई वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ ।
मनाङका करदाताले लमजुङबाट कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो । रासस