म्याग्दी । म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा कुल ७१ दशमलव२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
पुँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको १ अर्ब २१ करोड ५९ लाख १६ हजार विनियोजन भएकामा ८६ करोड ६१ लख ५२ हजार ७ सय ८० रुपैयाँ खर्च भएको सो कार्यालयका लेखापाल सुमन सुवेदीले जानकारी दिए ।
विकास योजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकमा बजेट विनियोजन हुने गर्छ । जिल्लामा प्रदेशका १० र संघीय सरकारका ३० कार्यालय छन् । पुँजीगत शीर्षकमा खर्च भएकामध्ये ४४दशमलव ४५ प्रतिशत अथवा ३८ करोड ५० लाख २४ हजार रुपैयाँ बजेट असार महिनामा खर्च भएको छ । संघीयतर्फ पुँजीगत शीर्षकमा ४० करोड ४१ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन भएकामा असार महिनामा १३ करोड ४० लाख ११ हजार ७ सय ७४ रुपैयाँसहित कुल २४ करोड ५५ लाख २६ हजार ८९ रुपैयाँ खर्चभएको छ ।
प्रदेशका कार्यालयमा ८१ करोड १७ लाख ८८ हजार रुपैयाँ विनियोजन भएकामा ६२ करोड ६ लाख २६ हजार ६ सय ९१ रुपैयाँ खर्च भएको छ । खर्च भएकामध्ये रु २५ करोड १० लाख १२ हजार २३० असार महिनाको हो । संघीय सरकारको चालुतर्फ ३ अर्ब ४८ करोड ५६ लाख ६६ हजार ३ सय ६२ बजेट विनियोजन भएकामा ३ अर्ब ३० करोड १८ लाख ४ हजार १ सय ३ अथवा ९४ दशमलव ७२ प्रतिशत रुपैयाँखर्च भएको छ ।
५१ करोड १३ लाख ६७ हजार ७ सय २९ रुपैयाँ संघीय बजेट असारमा खर्च भएको उक्त कार्यालयले जनाएको छ । संघीय र प्रदेशको चालू बजेटमा तलबभत्ता, प्रशासनिक खर्चका साथै स्थानीय तहलाई दिइने अनुदानसमेत समेटिएको छ ।
प्रदेशको चालू शीर्षकमा ४८ करोड ५३ लाख रुपैयाँ विनियोजन भएकामा ३६ करोड ७८ लाख ४९ हजार ४ सय ८० रुपैयाँ खर्च भएको छ । प्रदेशको चालु शीर्षकमा असार महिनामा १३ करोड ३५ लाख ८३ हजार १ सय ४५ रुपैयाँ खर्च भएको छ ।
संघीय र प्रदेशको चालू शीर्षकमा स्थानीय तहलाई दिएको अनुदानको निकासा रकमसमेत जोडिएको छ । स्थानीय तहले भएको खर्च विवरण र बचत भएको रकम फिर्ता गरिनसकेकाले यथार्थ खर्च विवरण प्राप्त हुन र समग्र जिल्लाको बजेट परिचालनको वास्तविक अवस्था पहिचान गर्न अझै केही दिन लाग्ने बताइएको छ ।
संघीय र प्रदेशको चालू तथा पुँजीगत गरेर गत आर्थिक वर्षमा कुल ५ अर्ब १८ करोड ६८ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ विनियोजन भएकामा ८७ दशमलव ४४ प्रतिशत अथवा ४ अर्ब ५२ करोड ५८ लाख ६ हजार ३ सय ६३ रुपैयाँ खर्च भएको छ ।
पुँजीगत शीर्षकको बजेटको ठूलो मात्रा असार महिनामा खर्च गर्ने प्रवृतिमा अझै सुधार आउन सकेको छैन् । यसैगरी गत आर्थिक वर्षमा जिल्लाका संघीय कार्यालयबाट १५ करोड २१ लाख ५१ हजार १ सय ८४ रुपैयाँ र प्रदेशका कार्यालयबाट २ करोड ९६ लाख ८ हजार ७ सय ८१ रुपैयाँ राजस्व संकलन भएको उक्त कार्यालयले जनाएको छ ।