काठमाडाैं । करको दायरामा आउने करदाताको संख्या ४० लाख पुगेको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औं प्रतिवेदनअनुसार आव २०७७/७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका हुन् ।
प्रतिवेदनअनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क तीनवटै समूहका करदाताको संख्यामा वृद्धि भएको हो । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६ र अग्रिम कर स्थायी लेखा नम्बर नौ हजार ९९८ जनाले लिएका छन् ।
आव २०७६/७७ को तुलनामा चालु आव २०७७/७८ आयकरतर्फ १८.९, मूल्य अभिवृद्धितर्फ ४.८७ र अन्तःशुल्क इजाजतपत्रतर्फ ९.६८ प्रतिशतले स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा वृद्धि भएको हो । यो वर्ष आयकरतर्फ स्थायी लेखा नम्बर लिनेको संख्या ६ लाख ४५ हजार ७१७ ले बढेर ४० लाख ५९ हजार १०७ पुगेको छ ।
यस्तै मूल्य अभिवृद्धितर्फ करमा दर्ता हुनेको संख्या दुई लाख ६८ हजार ४३६ पुगेको छ भने अन्तःशुल्क इजाजतपत्र लिनेको संख्या एक लाख ३ हजार ४२३ पुगेको छ ।
डाक्टर र इन्जिनियरले नै तिर्दैनन्
कर महालेखाको प्रतिवेदनअनुसार चिकित्सक, इन्जिनियर, वकिल, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षक प्राध्यापकलगायतका पेसाविद् अधिकांशले स्थायी लेखा नम्बर नलिएका र लिएकाले समेत आय विवरण दाखिला नगरेको उल्लेख गरिएको छ ।
महालेखाकाे ५८औं प्रतिवेदनमा समेत पेसाविद्हरूले आफ्नो पेसागत प्रमाणपत्रलाई नवीकरण गर्दा कर चुक्ता वा कर विवरण पेस गरेको प्रमाणपत्र माग गर्ने व्यवस्था गर्नुपर्ने कुरा उठाएको थियो ।
सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र करचुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।
महालेखाले सम्बद्ध निकायबीच अन्तरआबद्धतासहित उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ ।