सोमबार, असार ९, २०८२

बानी नै परेन ‘पिक एण्ड ड्रप’को

अशक्तहरुको गुनासो छ– ‘ट्राफिकले चिट काट्छ’ भन्दै चालकहरु गाडी रोक्न मान्दैनन्। उता, ट्राफिक प्रहरी भने शारीरिक रुपमा कमजोर व्यक्तिहरुको लागि उनीहरुलाई पायक पर्ने ठाउँमै रोक्न दिएको दाबी गर्छन्।
 |  आइतबार, माघ १२, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, माघ १२, २०७६

सार्वजनिक यातायात व्यवस्थित गर्न भनेर काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीले पिक एण्ड ड्रप (यात्रु चढाउने र हिँडिहाल्ने) प्रणाली लागू गरेको एक वर्ष भइसक्यो। तर, एक वर्षमा यो प्रणाली न पूर्ण रुपमा लागू भएको छ न असफल नै।

यात्रुहरुलाई पिक एण्ड ड्रप प्रणालीको बानी पार्न नै कठिन भएको महानगर र ट्राफिक प्रहरीको गुनासो छ। पिक एण्ड ड्रप प्रणाली लागू गरेपछि जाम कम हुँदै गएको र उक्त प्रणाली प्रभावकारी भएको महानगर र ट्राफिक प्रहरीको दाबी छ, तर, यात्रु भने सास्ती उस्तै रहेको सुनाउँछन्।

साना बालबालिका बोकेका, साथमा गह्रौं झोला भएका, अपांगता भएका, बिरामी, वृद्धवृद्धा आदिलाई सवारीसाधन चढ्न लामो बाटो हिँड्नुपर्ने बाध्यताले निकै सास्ती दिएको छ। कतिपय ठाउँमा त गाडी चढ्नलाई १५ मिनेटसम्म हिँड्नुपर्छ।

‘पिक एण्ड ड्रप प्रणाली अपांगता भएकाहरुको लागि सरकारको तुच्छ व्यवहार हो। उसैपनि एउटा लौरीको भरमा हिँड्नुपर्छ, त्यसैमाथी गाडि कहाँ पाउने थाहा छैन। बानेश्वरबाट एनएसी पुग्न कहिले भद्रकालीमा गाडी रोक्छ, कहिले एनएसीमै। कहिले रत्नपार्क पुर्याइदिन्छ। हामीले कसरी बाटो काट्ने अनि अर्को गाडी चढ्न कसरी पुग्ने ?’ दृष्टिविहीन रोशनीले समस्या सुनाइन्।

अशक्तहरुको गुनासो छ– ‘ट्राफिकले चिट काट्छ’ भन्दै चालकहरु गाडी रोक्न मान्दैनन्। उता, ट्राफिक प्रहरी भने शारीरिक रुपमा कमजोर व्यक्तिहरुको लागि उनीहरुलाई पायक पर्ने ठाउँमै रोक्न दिएको दाबी गर्छन्।

गत वर्षबाट काठमाडौंको टुँडीखेल आसपासका क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न नपाउने गरी काठमाडौं महानगरपालिकाले पिक एण्ड ड्रप प्रणाली लागू गरको हो। एक वर्ष बितिसक्दा पनि सवारी चालकले ट्राफिक प्रहरीका आँखा छलेर सवारीसाधन रोकी यात्रु कुर्ने प्रवृत्ति हटेको छैन। यद्यपि, पिक एण्ड ड्रप प्रणालीले जामको समस्या कम भएको महानगरीय ट्राफिक प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ बताउँछन्।

सरोकारवालाले पिक एण्ड ड्रप प्रभावकारी भएको दाबी गरिरहँदा यात्रु भने उल्टै अप्ठ्यारो भएको भन्दै आक्रोश व्यक्त गर्छन्। पहिले टुँडीखेल, लैनचौर हुँदै गोंगबु, सामाखुशी चल्ने सार्वजनिक गाडी भृकुटीमण्डप, सुन्धारा अनि जमलमा रोकिन्थे। तर, अहिले सिधै एनएसीमा मात्रै रोकिन्छन्, जमलमा पनि रोकिँदैनन्। यसले गर्दा जमलमा ओर्लने र त्यहाँबाट अर्को गाडी चढ्ने यात्रुले समस्या भोगिरहेका छन्। उता, चालकहरु भने स्टपमा पनि यात्रु चढाउन केहीबेर गाडी रोक्न नपाउँदा खाली कुदाउनुुपरेको गुनासो गर्छन्।

नयाँ नियमअनुसार टुँडीखेलबाट त्रिपुरेश्वर हुँदै कालिमाटीतर्फ जाने गाडीले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटीमण्डपको स्टप र त्रिपुरेश्वर स्टप, टुँडीखेलबाट लैनचौर हुँदै नयाँबजारतर्फ जाने गाडीले नेपाल वायु सेवा निगम अगाडि र लैनचौरस्थित दुग्ध विकास संस्थान अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउँछन्।

टुँडीखेलबाट विश्वज्योति, घण्टाघर, कमलपोखरी, नागपोखरी जाने गाडीले नेपाल वायुसेवा निगम र रत्नपार्क तथा टुँडीखेलभन्दा बाहिर जाने गाडीले रत्नपार्क अगाडि र टुँडीखेलभन्दा बाहिरको स्टपमा मात्र यात्रु ओराल्न र चढाउन पाउँछन्।

प्रकाशित: Jan 26, 2020| 13:19 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।