काठमाडौं । वैशाखमा विद्युतीय माध्यमबाट हुने भुक्तानी संख्या बढे पनि कारोबार रकम भने घटेको छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, वालेट र क्युआर कोडबाट हुने भुक्तानी संख्या बढे पनि कारोबार रकम भने घटेको देखिन्छ ।
वैशाखमा विभिन्न १५ शीर्षकमा विद्युतीय माध्यमबाट ६ करोड २६ लाख ४० हजार ९३४ पटकको कारोबारमा ५ खर्ब ३१ अर्ब ८० करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
यस्तै चैतमा पनि विभिन्न १५ शीर्षकमा ६ करोड ३ लाख २१ हजार २२३ पटकको कारोबारमा ५ खर्ब ८५ अर्ब ७४ रुपैयाँको कारोबार भएको थियो । चैतको तुलनामा वैशाखमा कारोबार संख्या २३ लाखपटक बढेको छ भने ५४ अर्ब रुपैयाँले कारोबार घटेको छ ।
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय कारोबार संख्या बढेको देखिन्छ । त्यस्तै, बैंकहरुमा घट्दो निक्षेप र उल्लेख्य कर्जा विस्तारले कारोबार रकम घटेको देखिन्छ ।
कनेक्ट आईपीएसबाट वैशाखमामा ३१ लाख १५ वटा कारोबारबाट २ खर्ब ५९ अर्ब रुपैयाँको भुक्तानी भएको छ । चैतमा ३३ लाख ३९ हजार ५ सय ५४ वटा कारोबारबाट २ खर्ब ७३ अर्ब ८५ करोड रुपैयाँ भुक्तानी भएको थियो । चैतको तुलनामा वैशाखमा कनेक्ट आईपीएसबाट हुने कारोबार रकम र संख्या दुवै घटेको छ ।
साथै, इन्टरनेट बैंकिङको कारोबार संख्या र रकम दुवै घटेको छ । चैतमा २ लाख ७४ हजार ९४७ वटा कारोबारमा १३ अर्ब ५ करोड ९ लाख रुपैयाँको भुक्तानी भएकामा वैशाखमा भने २ लाख ५२ हजारपटकको कारोबारमा ११ अर्ब ९१ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ ।
वैशाखमा भने मोबाइल बैंकिङबाट हुने भुक्तानी बढेको छ । मोबाइल बैंकिङ प्रयोग गरी १ करोड ६४ लाखवटा कारोबारबाट १ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी छ । चैतको तुलनामा वैशाखमा भने मोबाइल बैंकिङबाट हुने कारोबार संख्या बढे पनि कारोबार रकम भने केही घटेको देखिन्छ ।
चैतमा भने मोबाइल बैंकिङबाट प्रयोग गरी १ करोड ६४ लाखवटा कारोबारबाट १ खर्ब १५ अर्ब ३९ करोड रुपैयाँ भुक्तानी छ ।
त्यसैगरी, मोबाइल वालेटबाट हुने भुक्तानी संख्या बढेको छ भने कारोबार रकम भने घटेको छ ।
चैतमा वालेटबाट १ करोड ४४ लाख ९४ हजार ४९० वटा कारोबारबाट १५ अर्ब ३६ करोड भुक्तानी भएको थियो । वैशाखमा वालेटबाट १ करोड ४८ लाखवटा कारोबारबाट १४ अर्ब ६६ करोड भुक्तानी भएको छ ।
पछिल्लो समय निकै रुचाइएको क्युआर कोडबाट हुने कारोबार संख्या र रकम दुवै बढेको राष्ट्र बैंकले जनाएको छ ।
चैतमा क्युआर कोडबाट २७ लाख २३ हजार पटकको कारोबारमा ८ अर्ब ९४ रुपैयाँ बराबरको कारोबार भएकामा वैशाखमा भने ३० हजार ७१ हजार पटकको कारोबारमा १० अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।